नेपालगञ्ज : नेपालगञ्जको पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको कान्ति ताल फोहोर र झारपातले कुरूप बन्दै गएपछि श्रम संस्कृति पार्टीका नेता तथा कार्यकर्ता सरसफाइमा जुटेका छन् ।
तालको संरक्षण र सरसफाइ गर्ने जिम्मेवारी स्थानीय सरकारको भए पनि नेपालगञ्ज उपमहानगरपालिकाले पर्याप्त ध्यान नदिएको भन्दै पार्टीले सरसफाइ अभियान सञ्चालन गरेको हो । करिब १० करोड रुपैयाँको लागतमा निर्माण गरिएको कान्ति ताल नेपालगञ्जको महत्वपूर्ण पर्यटकीय स्थल हो । तर, नियमित सरसफाइ र संरक्षणको अभावमा ताल परिसरमा झारपात बढ्नुका साथै प्लास्टिकजन्य फोहोर, गुट्खाका खोल र मदिराका बोतल जथाभावी फालिएका छन् ।
श्रम संस्कृति पार्टीका नेता असलम अन्सारीले ताल फोहोर र झाडीले भरिन थालेपछि सरसफाइ अभियान सुरु गरिएको बताए । पार्टीको अभियान श्रमको सम्मान र श्रम संस्कृतिको विकास गर्नु रहेको भन्दै उनले भाषण र नारामा मात्रै सीमित नभई आफैँ श्रममा सहभागी भएको बताए । नेपालगञ्ज उपमहानगरपालिका–२१ र २२ मा फैलिएको ताल परिसरमा पार्टीका नेता तथा कार्यकर्ताले झारपात हटाउनुका साथै जथाभावी फालिएका प्लास्टिक, गुट्खाका खोल र मदिराका बोतल संकलन गरेका थिए ।
पार्टीका प्रस्तावित केन्द्रीय सदस्य राजन राना मगरले मर्निङ वाकमा आउने नागरिकबाट ताल परिसर फोहोर भएको गुनासो आएपछि कार्यकर्ता परिचालन गरेर सरसफाइ गरिएको बताए । …हाम्रो पार्टीको अभियान नै श्रम गर्नुपर्छ भन्ने चेतना फैलाउनु हो । नेपालगञ्जका विभिन्न सार्वजनिक क्षेत्रमा सरसफाइ गर्दै आएका छौँ । कान्ति तालमा पनि गुट्खाका खोल, मदिराका बोतललगायतका फोहोर जथाभावी फालिएको देखियो । ती सबै संकलन गरेर सरसफाइ गरेका छौँ,Ú उनले भने ।
मगरले तालको संरक्षण र सरसफाइमा उपमहानगरपालिकाले नियमित ध्यान दिनुपर्ने बताए । सार्वजनिक सम्पत्तिको संरक्षण स्थानीय सरकारको दायित्व भए पनि नागरिकको सहभागिताबिना दीर्घकालीन रूपमा संरक्षण गर्न नसकिने उनको भनाइ छ । उनले ताल क्षेत्रमा नगर प्रहरीको नियमित गस्ती व्यवस्था गर्न पनि उपमहानगरपालिकासँग आग्रह गरे ।पार्टीका वरिष्ठ श्रमदाता मेराज अहमद हलवाई -हिमालय)ले स्थानीय सरकारले तालको सरसफाइ र संरक्षणमा पर्याप्त ध्यान नदिएपछि आफूहरू अभियानमा जुट्नुपरेको बताए । करिब २५ बिघा क्षेत्रफलमा फैलिएको ताललाई व्यवस्थित रूपमा संरक्षण र विकास गर्न सके भारतीय पर्यटकलाई समेत आकर्षित गर्न सकिने उनले बताए ।
…यो ताललाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने सम्भावना छ । आवश्यक संरक्षण, सरसफाइ र पूर्वाधार व्यवस्थापन गर्न सके भारतीय पर्यटकलाई समेत आकर्षित गर्न सकिन्छ,Ú उनले भने । उनले सरसफाइ अभियान एक दिनका लागि मात्र नभई आगामी शनिबार पनि निरन्तरता दिइने जानकारी दिए ।श्रम संस्कृति पार्टीकी महिला नेतृ काश्मिरा खातुनले श्रमदाताहरूको सामूहिक सहभागितामा सरसफाइ गरिएको बताइन् । सार्वजनिक सम्पत्तिको संरक्षण सबैको साझा दायित्व भएको भन्दै उनले आगामी शनिबार पनि अभियान सञ्चालन गरिने बताइन् ।
सरसफाइ अभियानमा सहभागी नेपालगञ्ज उपमहानगरपालिका–२२ का वडाध्यक्ष अब्दुल गफरले पार्टीले सार्वजनिक स्थलको सरसफाइमा चासो देखाएकोमा खुसी व्यक्त गरे । उनले वडा कार्यालयका तर्फबाट पनि आवश्यक सहयोग र सहकार्य गर्ने प्रतिबद्धता जनाए ।कान्ति ताल मर्निङ वाकमा आउने नागरिकदेखि बालबालिकासम्मका लागि आकर्षणको केन्द्र बनेको छ । तर, फोहोर व्यवस्थापन र नियमित सरसफाइको अभावले तालको सौन्दर्यमा असर परेको स्थानीयको गुनासो छ । ताललाई व्यवस्थित पर्यटकीय गन्तव्य बनाउन स्थानीय सरकार, राजनीतिक दल र नागरिकबीच सहकार्य आवश्यक रहेको सरोकारवालाको भनाइ छ ।
सरसफाइ अभियानमा श्रम संस्कृति पार्टीका जिल्ला अध्यक्ष श्रीमान थापा मगर, अगुवा श्रमदाता चाँद खाँ, वरिष्ठ श्रमदाता मेराज अहमद हलवाई -हिमालय), प्रस्तावित केन्द्रीय सदस्य राजन राना मगर, महिला नेतृ काश्मिरा खातुन, जिल्ला उपाध्यक्ष मोहम्मद रहिस हलवाई, मेघराज सोनार, सचिव दण्डप्रसाद शर्मा, नगर श्रम संयोजक इम्तियाज राई र नेता असलम अन्सारीलगायत सहभागी थिए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार