Listen LIVE

बाढी पीडितका लागि सिख समाज बाँकेद्वारा डेढ लाख सहयोग

नेपालगञ्ज : दैवीप्रकोप तथा बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि सिख समाज बाँके, नेपालगञ्जले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख ५६ हजार ६ सय रुपैयाँ आर्थिक सहयोग गरेको छ।

सिख समाज बाँके, नेपालगञ्जका तर्फबाट संकलित उक्त रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने गरी जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुखसमक्ष हस्तान्तरण गरिएको हो।

बाढी तथा दैवीप्रकोपका कारण प्रभावित परिवारलाई राहत तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले आर्थिक सहयोग गरिएको सिख समाज बाँकेले जनाएको छ।

विपद्को समयमा पीडित नागरिकको साथमा उभिनु सामाजिक दायित्व भएको उल्लेख गर्दै समाजले आगामी दिनमा पनि आवश्यक सहयोग तथा सहकार्यलाई निरन्तरता दिने जनाएको छ।

सहयोग हस्तान्तरणका क्रममा श्री गुरु नानक सिंह सभा गुरुद्वारा नेपालगञ्जका अध्यक्ष चरनजीत  सिंह सरदार, श्री गुरुनानक सिंह सभा गुरुद्वारा नेपालगञ्जका महासचिव अमरजीत सिह गुरुद्वारा नेपालगञ्जका सदस्य जोगिन्दर सिंह सरदार -राजु) तथा सिख समाज बाँकेका कोष अध्यक्ष हरपाल सिंह सरदार लगायतको सहभागिता रहेको थियो।

सिख समाज बाँके, नेपालगञ्जले गरेको उक्त सहयोगले विपद्मा परेका परिवारको राहत तथा पुनःस्थापनाका कार्यमा थप टेवा पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया