Listen LIVE

स्वास्थ्यजन्य फोहोर व्यवस्थापनबारे अभिमुखीकरण

बैजनाथ (बाँके) : बैजनाथ गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा स्वास्थ्य संस्थाबाट निस्कने फोहोरको सुरक्षित व्यवस्थापन सम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

बिहीबार बनकटवा स्वास्थ्य केन्द्रको सभाहलमा आयोजित कार्यक्रममा बैजनाथ गाउँपालिकाभित्र रहेका आठवटै स्वास्थ्य संस्थाका प्रमुख, नर्सिङ कर्मचारी तथा कार्यालय सहयोगीहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा स्वास्थ्य संस्थाबाट उत्पादन हुने रगतजन्य फोहोर, रासायनिक  फोहोर, सिरिन्ज, सुईलगायत अन्य स्वास्थ्यजन्य फोहोरको सुरक्षित संकलन, वर्गीकरण, भण्डारण तथा उचित व्यवस्थापनका विषयमा जानकारी गराइएको थियो।

बैजनाथ गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख लक्ष्मणराज शाहीका अनुसार हाल रगतजन्य फोहोर तथा प्रयोग भएका सिरिन्ज र निडिलहरू सम्बन्धित स्वास्थ्य संस्थामै सुरक्षित रूपमा व्यवस्थापन गर्ने गरिएको छ। अन्य प्रकारका फोहोरका लागि भने गाउँपालिकाले फोहोर ढुवानी सवारीको व्यवस्था गरी व्यवस्थित रूपमा व्यवस्थापन गरिरहेको उनले जानकारी दिए।

स्वास्थ्य संस्थाबाट निस्कने फोहोरको वैज्ञानिक व्यवस्थापनमार्फत संक्रमणको जोखिम न्यूनीकरण गर्ने, स्वास्थ्यकर्मी तथा सर्वसाधारणको स्वास्थ्य सुरक्षा सुनिश्चित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको स्वास्थ्य शाखाले जनाएको छ।

बैजनाथ गाउँपालिका उपाध्यक्ष निर्मला रोकायको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहभागीहरूलाई स्वास्थ्य संस्थाजन्य फोहोर व्यवस्थापनसम्बन्धी व्यवहारिक तथा प्राविधिक जानकारीसमेत प्रदान गरिएको छ।

प्रतिक्रिया