नेपालगञ्ज : बाँकेको जानकी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ६९ करोड ५६ लाख २९ हजार रुपैयाँको बजेट तथा नीति कार्यक्रम सर्वसम्मत रूपमा पारित गरेको छ। कृषि, स्वास्थ्य, शिक्षा, पूर्वाधार विकास, रोजगार सिर्जना, सुशासन तथा प्रभावकारी सेवा प्रवाहलाई केन्द्रमा राखेर गाउँपालिकाले आगामी वर्षका लागि महत्वाकांक्षी योजना अघि सारेको हो।
गाउँसभाको २०औँ अधिवेशनमा गाउँपालिका उपाध्यक्ष रामप्यारी यादवले प्रस्तुत गर्नुभएको बजेट सभाबाट सर्वसम्मत रूपमा पारित भएको हो। कुल बजेटमध्ये संघीय तथा प्रदेश सरकारबाट प्राप्त सशर्त, समपूरक तथा विशेष अनुदानतर्फ ४९ करोड ९६ लाख २९ हजार रुपैयाँ समेटिएको छ। गाउँपालिकाले आन्तरिक स्रोतबाट २ करोड रुपैयाँ तथा राजस्व बाँडफाँडबाट १ करोड ६० लाख रुपैयाँ आम्दानी हुने अनुमान गरेको छ।
बजेटमा आर्थिक विकासतर्फ ४५ लाख ७४ हजार रुपैयाँ, सामाजिक विकासतर्फ ४ करोड ११ लाख ४४ हजार रुपैयाँ, पूर्वाधार विकासतर्फ १२ करोड ४५ लाख ११ हजार रुपैयाँ, वन, वातावरण तथा विपद् व्यवस्थापनतर्फ २७ लाख रुपैयाँ तथा सुशासन एवं संस्थागत क्षमता विकासतर्फ ११ करोड ८ लाख रुपैयाँ विनियोजन गरिएको छ।
बजेट प्रस्तुत हुनुअघि गाउँपालिका अध्यक्ष छब्बन खाँको तर्फबाट वडा नं. १ का अध्यक्ष मोहम्मद रजा राईले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सभासमक्ष पेश गरेका थिए। नीति तथा कार्यक्रममा कृषि तथा पशुपन्छी विकास, उद्योग–व्यवसाय प्रवद्र्धन, पर्यटन विकास, श्रम तथा रोजगार, स्वास्थ्य तथा पोषण, शिक्षा, महिला तथा बालबालिका सशक्तीकरण, सामाजिक समावेशीकरण, विपद् व्यवस्थापन, जलवायु परिवर्तन अनुकूलन, राजस्व परिचालन तथा योजनाबद्ध विकासलाई प्राथमिकतामा राखिएको छ।
गाउँपालिका प्रवक्ता टिका नाथ यादवले गाउँसभामा उपस्थित जनप्रतिनिधि तथा सदस्यहरूलाई स्वागत गर्दै समृद्ध जानकी निर्माणका लागि सुशासन, विकास र नागरिकमैत्री सेवा प्रवाहमा सबै पक्षको साझा प्रतिबद्धता आवश्यक रहेको बताए।
सभामा बोल्दै प्रमुख प्रशासकीय अधिकृत तथा सदस्य सचिव परशुराम उपाध्यायले पारित नीति तथा कार्यक्रम र बजेटले गाउँपालिकाको समग्र विकासलाई गति दिनुका साथै सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरे।
योजना शाखा प्रमुख शोभा पौडेलले चालु आर्थिक वर्षको प्रगति विवरण प्रस्तुत गर्दै हालसम्म चालुतर्फ २८ करोड ६० लाख ९ हजार ३८ रुपैयाँ र पुँजीगततर्फ ७ करोड ४९ लाख ९ हजार २६८ रुपैयाँ गरी कुल ३६ करोड ९ लाख १८ हजार ३०६ रुपैयाँ खर्च भइसकेको जानकारी दिइन् । उनका अनुसार गाउँपालिकाको प्रशासकीय भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको छ र चालु आर्थिक वर्षभित्रै सोही भवनबाट सेवा प्रवाह सुरु गर्ने तयारी गरिएको छ। साथै वडा नं. ३, ४ र ५ मा बर्थिङ सेन्टर सञ्चालनको तयारीसमेत पूरा भएको उनले बताइन् ।
गाउँपालिका अध्यक्ष छब्बन खाँले गाउँसभा सफलतापूर्वक सम्पन्न गराउन सहयोग गर्ने सम्पूर्ण जनप्रतिनिधि, कर्मचारी तथा सरोकारवालाप्रति धन्यवाद व्यक्त गर्दै पारित नीति तथा कार्यक्रम र बजेटको प्रभावकारी कार्यान्वयनमार्फत जनताको अपेक्षा पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे।
गाउँसभाबाट नीति तथा कार्यक्रम र बजेट सर्वसम्मत रूपमा पारित भएको वरिष्ठ लेखा अधिकृत मतिन अहमद अन्सारीले जानकारी दिए। कार्यक्रममा गाउँपालिकाका छवटै वडाका अध्यक्ष, कार्यपालिका सदस्य, विषयगत शाखाका प्रमुख तथा कर्मचारीहरूको सहभागिता रहेको थियो।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार