Listen LIVE

चलचित्र ज्वाईं साब हेर्न नपाएको दर्शकको गुनासो

नेपालगञ्ज : नेपालगञ्जमा दर्शकहरुले नेपाली चलचित्र ज्वाइँ साब हेर्न नपाएको गुनासो गरेका छन् । बुधबार नेपालगन्जका हलहरु भिजिट गर्ने क्रममा दर्शकहरुले चलचित्र ज्वाइँ साबको टिमलाई चलचित्र ज्वाइँ साब हेर्न नपाएको गुनासो गरे । 

यही मंगलबार चलचित्र ज्वाइँ साब हेर्न बर्दियाबाट नेपालगन्ज आएका दर्शकले नेपालगन्जमा हलहरुले सो नदिएका कारण आफूहरुले चलचित्र हेर्न नपाई फर्केको समेत प्रतिक्रिया दिएका छन् । यही असोज २४ गते फुलपातिदेखि प्रदर्शनरत चलचित्र ज्वाइँ साबको समूह चलचित्र प्रदर्शनमा आएपछि पहिलोपटक मोफसलको यात्रामा नेपालगन्ज आएका थिए । उक्त टोलीमा चलचित्र ज्वाइँ साबको प्रमुख पात्र जितु नेपाल, निती शाह, निर्देशक बसन्त निरौला लगायतको उपस्थिति रहेको थियो । उनीहरुले नेपालगन्जमा रहेको सिने रोयल र बागेश्वरी सिनेमाजमा भिजिट गरेका थिए । 

त्यस पश्चात पत्रकारसँगको भेटघाटमा पनि ज्वाइँ साबको टिमले मोफलसमा दर्शकले मन पराउँदा पराउँदै पनि सोलाई कटौती गरिएको गुनासो गरे । दशैंको मौका छोपेर रिलिज गरिएको यस चलचित्रको भिडन्त आफैंमा ब्राण्ड रहेका दुई ठूला ब्यानरका चलचित्र छक्का पन्जा ५ र १२ गाउँसंग भयो । तर, चलचित्रका नायक जीतु भने यो भिडन्त नभई नेपाली चलचित्रको महोत्सव भएको जिकिर गरे । दशैंमा ब्यापारको सम्भावना राम्रो हुने भएकाले यो समय रोजेको उनको भनाई थियो ।  

निर्देशक बसन्त निरौलाले हलहरुले शो दिन कन्जुस्याइँ गरेको र केही हलहरुले बिहान र रातीको मात्र सो दिएको गुनासो गरे । सबैलाई पायक पर्ने समयमा शो राख्दा हाउसफुल जाँदा पनी पछि शो घटाएको उनले भनाई थियो । दर्शकको समय अनुसार शो नभएका कारण पनि दर्शकले ज्वाइँ साब हेर्न नपाएको दर्शकको गुनासो रहेको चलचित्रकी नायिका नीति शाहले बताइन् । उनले नेपालगन्ज भिजिटका क्रममा ३० भन्दा बढी व्यक्तिहरुले चलचित्र हेर्न नपाएको गुनासो आफूहरुसँग गरेको बताइन् । 

पछिल्लो समय (दशैं सेरोफेरोमा) नेपाली चलचित्रले लगभग सबैजसो सिनेमाघरमा राज गरिरहेको अवस्था छ । तर, कलाकार लगायत निर्माण टिम राजधानी भन्दा बाहिर मोफसलका सिनेमा घरहरु र त्यहाँका दर्शकलाई वास्तै नगरेको अवस्थामा चलचित्र ज्वाइँ साबको टीम हल भिजिटमा आउँदा भने दर्शकहरु खुशी भएका थिए ।

प्रतिक्रिया