हुम्ला ::नेपाल र चीनको सिमाना छुट्याउने सीमास्तम्भको अनुगमन गर्न सुरक्षाकर्मीलाई कठिनाइ हुने गरेको छ । हुम्ला क्षेत्रमा पर्ने दुई देशबिचका कुनै पनि सीमास्तम्भसम्म पुग्ने स्थानमा सडक निर्माण नगरिएका कारण सशस्त्र प्रहरीलगायत सुरक्षाकर्मीलाई अनुगमन गर्न कठिनाइ भएको हो ।
नेपाल र चीनबिचको सिमाना छुट्याउने सीमास्तम्भ नम्बर ३ देखि १२ वटा सीमास्तम्भ रहेको र १२ नम्बरको सीमास्तम्भमा पुग्न आधासम्म सडक निर्माण गरिएको छ । योबाहेक अन्य सबै सीमास्तम्भसम्म जान सडक नपुगेको सशस्त्र प्रहरी बल ४४ नं. गुल्म सिमकोटका सशस्त्र प्रहरी नायब उपरीक्षक नन्दबहादुर साउदले बताए ।
उनका अनुसार हिल्साबाट पश्चिमतर्फका सीमास्तम्भ नम्बर ३ र ४ मा पुग्न सुरक्षाकर्मीलाई बिहान ४ बजे हिँडेर गयो भने राति १० बजे मात्र हिल्सा फर्किन सकिन्छ । सडक त के घोरेटो बाटो पनि नभएका कारण जिपिएस हेर्दै जानुपर्ने वा पहिला गइसकेका सुरक्षाकर्मीलाई अगाडि लगाएर जानुपर्ने बाध्यता सुरक्षाकर्मीलाई भएको उनले बताए ।
यसरी सीमास्तम्भको अनुगमनमा निस्कने सुरक्षाकर्मीले खानासमेत हिल्साबाट बोकेर लानुपर्ने बाध्यता रहेको छ । कुनै बेला ती सीमास्तम्भमा जान हिउँमाथि हिँड्नुपर्ने बाध्यता पनि आउँछ । यसै गरी हिल्सादेखि किट क्षेत्रमा स्थापना गरिएका सीमास्तम्भहरू ५, ६, ७, ८, ९ र १० मा पुग्न केही सहज भए पनि सडक निर्माण भने गरिएको छैन । त्यसैले ती सीमास्तम्भमा पुग्न पनि पैदल हिँडेर जानुको विकल्प नै छैन । हिल्साबाट किटसम्म कर्णाली प्रदेश सरकारले सडक निर्माण गरेको भए पनि सीमास्तम्भ पुग्नका लागि हिँड्नै पर्ने बाध्यता छ ।
अर्को हिँडन पनि सबैभन्दा अप्ठेरो गरी पुग्नुपर्ने सीमास्तम्भ नम्बर ११ हो । यो सीमास्तम्भमा पुग्न हिल्साबाट सीमास्तम्भ रहेको स्थान टाकुले लेकसम्म सुरक्षाकर्मीले उकालो मात्र हिँड्नु पर्छ । त्यहाँ पुग्न बिहान ४ बजे हिल्साबाट हिँड्यो भने बेलुका ७/८ बजे मात्र सीमास्तम्भको अनुगमन गरेर सुरक्षाकर्मी फर्कने गर्छन् । यसै गरी सीमास्तम्भको केही
नजिकैसम्म कच्ची सडक निर्माण गरिएको १२ नम्बरको सीमास्तम्भ रहेको छ । यो स्तम्भ पाँच हजार एक सय मिटर उचाइमा रहेको छ । सीमाक्षेत्रमा रहँदै आउनुभएका सुरक्षाकर्मी मात्र नभएर जिल्लाबाट सुरक्षा समितिको टोली पनि ती सीमास्तम्भसम्म अनुगमनमा पुग्नुपर्दा पैदल हिँडेर जानु परिरहेको प्रहरी नायब उपरीक्षक शङ्कर खड्काले बताए ।
सीमास्तम्भहरूको नियमित रूपमा अनुगमन गर्नका लागि गाउँपालिका, प्रदेश र सङ्घ सरकारले सामान्य भए पनि सडकको ट्र्याक खोल्नुपर्ने उनको भनाइ छ । उता ती सीमास्तम्भसम्म आउन चीन सरकारले भने सडक निर्माण गरेको छ । चिनियाँ सुरक्षाकर्मी यातायातका साधनमा अनुगमनमा आउने गर्छन् । विशेष गरी सीमास्तम्भ नं ३, ४, ११, १२ सम्म पुग्नका लागि सडक निर्माण गर्नु अति नै आवश्यक रहेको सुरक्षाकर्मीको माग र आवश्यकता रहेको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार