Listen LIVE

खजुरा क्यान्सर अस्पतालमा विभिन्न सेवा विस्तार

नेपालगञ्ज : बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा एक्सरे र प्रयोगशालाको सेवा विस्तार गरिएको छ ।

बिरामीको चाप र आवश्यकतालाई ध्यानमा राखेर अस्पतालमा रहेको प्रयोगशाला र एक्सरे सेवालाई २४ सै घण्टा सञ्चालनमा ल्याइ सेवा बिस्तार गरिएको हो ।अस्पतालका प्रमुख कार्यकारी निर्देशक डा.निरज भट्टराईले अस्पतालमा क्यान्सरका बिरामीको चाप बढेसँगै एक्सरेको सेवालाई २४ घण्टा बनाइएको जानकारी दिए ।

उनले एक्सरे सेवा अन्तर्गत सिटी स्क्यान सेवा बिहान आठ बजेबाट राती आठ बजे सम्म र अन्य एक्सरे सेवा २४ सै घण्टा सुचारु रहने बताए । भिडियो एक्सरेको सेवा भने जनशक्तिको अभावमा हाल विस्तार गर्न नसकिएको जनाउँदै कार्यकारी निर्देशक डा.भट्टराईले जनशक्तिको व्यवस्थापनसँगै भिडियो एक्सरेको सेवा पनि छिटै विस्तार गरिने जानकारी गराए ।

उनका अनुसार हाल अन्य अतिरिक्त समयका लागि जनशक्ति व्यवस्थापन गरेर भिडियो एक्सरे सेवा सञ्चालन गरिँदै आएको छ । स्वास्थ्य मन्त्रालयबाट रेडियोलोजी विभागको जनशक्ति माग गरिएकोले सो जनशक्ति उपलब्ध भएका सेवा सहज हुने छ ।

अस्पतालका अनुसार पछिल्लो समयमा आएर अस्पतालका धेरै सेवालाई एउटै छानामुनि व्यवस्थापन गरेर थप गुणस्तरीयता सहित २४ सै घण्टा सञ्चालन गरिएको हो ।

अस्पताल फार्मेसीलाई समेत विस्तार गरि केमो वार्डबाटै केमो फार्मेसी सञ्चालन गरिएको छ भने फार्मेसीमा अशक्त, अपाङ्ग, ज्येष्ठ नागरिक तथा इमर्जेन्सी र शल्यक्रियाका लागि छुट्टाछुट्टै फार्मेसी काउन्टर व्यवस्थापन गरिएको छ । 

सोही प्रकारले कुरुवाका लागि लायन्स क्लबको सहयोगमा छुट्टै अत्याधुनिक कुरुवा घर निर्माण गरेर कुरुवा घर समेत सञ्चालनमा ल्याइएको छ ।

यसैगरी लामो सयमदेखि बिग्रिएर थन्किएका ४० भन्दा बढी स्वास्थ्य उपकरणको राष्ट्रिय आविष्कार केन्द्रका प्राविधिकद्वारा मर्मत सम्भार गराएर सञ्चालनमा ल्याइएको छ ।

पश्चिम नेपालको चितवनदेखि पश्चिमतर्फको एक मात्र क्यान्सर अस्पताल खजुरा क्यान्सर अस्पतालमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत सीमापारी भारतका समेत बिरामीले सेवा लिँदै आएका छन् ।

प्रतिक्रिया