Listen LIVE

बाँकेमा फेरी रगत अभाव, स्वयंसेवीद्वारा रक्तदान गरिँदै

नेपालगञ्ज : पश्चिम नेपालको स्वास्थ्य उपचारको हब बन्दै गएको नेपालगञ्जमा फेरी एक पटक रगत अभाव चर्किएको छ ।

रगत अभाव बढ्दै जाँदा नेपालगञ्जस्थित प्रादेशिक रक्त सञ्चार केन्द्रले रक्तदानकालागि विभिन्न सङ्घसंस्थालाई आग्रह गरेपछि फेरी रक्तदान गर्ने कार्यलाई अगाडि बढाइएको छ ।

सोही क्रममा गोपाल नीना फाउन्डेशन नेपाल तथा जनमत अर्धसाप्ताहिकको संयुक्त आयोजनामा गरिएको रक्तदान कार्यक्रममा ५० जनाले रक्तदान गरेका छन् ।

नेपालगञ्जस्थित अन्नपूर्ण ग्यास्ट्रो केयर अस्पताल गणेशमान चोकमा आयोजित कार्यक्रममा रक्तदाताहरूको उत्साहजनक सहभागिता देखिएको थियो ।

उक्त कार्यक्रम जनमतद्वारा सञ्चालन गरिएको ६८औँ रक्तदान शृङ्खला रहेको शतक रक्तदाता पवन जयसवालले जानकारी दिए । उनका अनुसार साथै गोपाल नीना फाउन्डेसनले पनि निरन्तररूपमा रक्तदान कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

बाँके जिल्लाका अस्पतालमा देखिँदै आएको रगत अभावको समस्या न्यूनीकरण गर्ने उद्देश्यले नियमितरूपमा यस्ता कार्यक्रम आयोजना गर्ने गरिएको जनमत अर्ध साप्ताहिकका सम्पादक पूर्णलाल चुकेले बताए । 

उनले यस्ता अभियानले रगत अभावलाई केही हदसम्म समाधान गर्नुका साथै æरक्तदान जीवनदानÆ भन्ने सन्देश समाजमा फैलाउने र नयाँ रक्तदाताको संख्या बढाउने विश्वास लिइएको बताए । 

प्रादेशिक रक्त सञ्चार केन्द्र नेपालगञ्जका प्रमुख उपेन्द्र रेग्मीले रगत अभाव अत्यधिक बढेकोले रक्तदाता सङ्घसंस्था र व्यक्तिलाई रक्तदानका लागि अनुरोध गरिएको बताए । 

उनका अनुसार नेपालगञ्जमा पश्चिम नेपालका तीनवटा प्रदेशका गम्भीर अवस्थाका बिरामीलाई उपचारका लागि ल्याउने गरिएकोले पनि रगतको आवश्यकता दिनदिनै बढ्दै गएको छ ।

प्रतिक्रिया