Listen LIVE

नेपालगञ्जमा बालेन शाहको भब्य स्वागत

नेपालगञ्ज : राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र ( बालेन ) शाहलाई सोमवार नेपालगञ्जमा भव्य स्वागत गरिएको छ । पश्चिम नेपालको निर्वाचन प्रचार प्रसार भ्रमणका लागि सुदुरपश्चिम जाने क्रममा सोमवार नेपालगञ्ज पुगेका रास्वपाका वरिष्ठ नेता शाहलाई नेपालगञ्ज विमानस्थल र नेपालगन्ज बजारमा भव्य स्वागत गरिएको हो । 

उनी विमानस्थलदेखि खुला जिपमा सवार भइ सडक वरिपरिका स्थानीयसँग हात हल्लाएर स्वागत स्विकार्दै नेपालगञ्ज पुगेका थिए । मौसम खराब भएका कारण हवाई उडानमा ढिलाई हुँदा निर्धारित कार्यक्रम भन्दा करिब पाँच घण्टा ढिलो नेपालगञ्ज पुगेका शाहलाई विमानस्थलमा सयौं समर्थकहरुले स्वागत गरेका थिए भने नेपालगञ्जस्थित रास्वपाको कार्यालयमा पनि सयौं समर्थक तथा स्थानीय नेता कार्यकर्ताले स्वागत गरेका थिए । 

वरिष्ठ नेता शाहको स्वागतका लागि विहानैदेखि ठुलो संख्यामा समर्थक, नेता कार्यकर्ता विमानस्थल पुगेका थिए भने जिल्ला पार्टी कार्यालय नेपालगञ्जमा ठुलो संख्यामा उपस्थित रहेका थिए । 

विमानस्थलमा शाहलाई बाँके क्षेत्र नम्बर ३ का उम्मेदवार तथा रास्वपाका केन्द्रिय सदस्य खगेन्द्र सुनार, क्षेत्र नम्बर २ का उम्मेदवार विवेक कुमार श्रेष्ठ, निवर्तमान सांसद लक्ष्मी तिवारी, स्थानीय नेताहरु निलराज अधिकारी, बुद्धी सागर सुवेदी लगायतले स्वागत गरे । 

शाहद्धारा जिल्ला पार्टी कार्यालय उदघाटनको कार्यक्रम रहेपनि कार्यालय वरिपरि अत्यधिक भिड रहेकोले उदघाटन कार्यक्रम स्थगित गरिएको पार्टीका नेता बुद्धि सागर सुवेदीले बताए । नेता शाह नेपालगञ्जबाट बर्दिया हुँदै कैलाली गएको रास्वपाले जनाएको छ ।

प्रतिक्रिया