Listen LIVE

जमिन बाँझो नराख्न किसानलाई मुख्यमन्त्री आचार्यको आग्रह

दाङ : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जमिन बाँझो नराखी उत्पादनमा जोडिन किसानलाई आग्रह गरेका छन् ।

दाङको देउखुरी क्षेत्रको महत्वपुर्ण सिँचाइ आयोजना प्रगन्ना नहर सरसफाई कार्यक्रमको आज राप्ती उपत्यका-देउखुरी)मा उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले किसानका वास्तविक समस्या पहिचान गरेर ती समस्या समाधानका लागि योजना बनाइरहेको जानकारी दिए ।

उनले देउखुरी क्षेत्रलाई अन्नको भण्डारको रूपमा उल्लेख गर्दै पछिल्लो समय जमिन बाँझो रहने र उत्पादन घट्ने प्रवृत्तिप्रति चिन्ता व्यक्त गरे । तरकारीखेतीमा किसानलाई सक्रिय हुन आग्रह गर्दै स्थानीय बजारमा बाहिरी तरकारीको निर्भरता घटाउन उत्पादन वृद्धि आवश्यक रहेको मुख्यमन्त्री आचार्यले बताए । सिँचाइ सुविधा भए पनि अपेक्षित प्रतिफल लिन नसकिएको उल्लेख गर्दै उनले सबैलाई उत्पादनमुखी बन्न आग्रह गरे ।

…कृषिको आधारः सिँचाइमा सुधारÚभन्ने मूल नारासहित ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र प्रगन्ना कुलो सिँचाइ प्रणाली मूल समन्वय समिति देउखुरीको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री सीता शर्मा चौधरीले सिँचाइ सुविधा विस्तारमा सरकार दृढताका साथ अघि बढिरहेको बताइन् । उनले उत्पादन र उत्पादकत्व वृद्धि गर्न सिँचाइको महत्वपूर्ण भूमिका रहेको बताइन् ।

प्रगन्ना कुलो सिँचाइ प्रणाली मूल समन्वय समितिका अध्यक्ष टङ्कनाथ चौधरीले राप्ती नदीमा हुने अनियन्त्रित उत्खनन्का कारण सिँचाइ प्रणालीमा समस्या देखिएको बताए । उक्त सिँचाइ आयोजनामार्फत हाल पाँच हजार ८०० हेक्टर जमिनमा सिँचाइ सुविधा पुग्दै आएको छ ।

कार्यक्रममा मन्त्रालयका सचिव चुर्णबहादुर ओलीले सिँचाइ हुने क्षेत्रफल क्रमशः विस्तार हुँदै गएको जानकारी दिए ।

प्रतिक्रिया