नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिकाले सामुदायिक कुकुरको बन्ध्याकरण शिविर सञ्चालन गरेर २८१ वटा कुकुरको बन्ध्याकरण गरिएको छ ।
चार दिनसम्म सञ्चालन गरिएको सो शिविरमा उपमहानगरका २३ वटै वडाका विभिन्न टोलबाट नियन्त्रणमा लिइएका २८१ सामुदायिक कुकुरको बन्ध्याकरण गर्नुका साथै रेबिजविरुद्धको भ्याक्सिन र रेडियम बेल्ट लगाएर छोडिएको नेपालगञ्ज उपमहानगरपालिका पशु स्वास्थ्य सेवा शाखा प्रमुख लक्ष्मी शाहीले जानकारी दिइन् ।
उनले सामुदायिक कुकुरबाट फैलन सक्ने रेबिज जन्यरोग नियन्त्रणका लागि नगरमा रहेका सामुदायिक कुकुरहरूको खोजी गरेर बन्ध्याकरण गरिएको बताइन् । सो बन्ध्याकरण शिविरमा भाले कुकुर र पोथी कुकुरको बन्ध्याकरण गरिएको प्रमुख शाहीले बताइन् ।
सो शिविरमा सक्रिय पशु स्वास्थ्य तालिम तथा परामर्श सेवा कास्की, पोखरा फिल्ड अफिस–नेपालगञ्ज बाँकेका प्रमुख तथा पशु चिकित्सक डा. शुदर्शन भट्टराईले बिहान नगरका विभिन्न स्थानमा पुगेर सामुदायिक कुकुर समात्ने र दिनभरि समातिएका सामुदायिक कुकुरको बन्ध्याकरण गरेर समातेकै स्थानमा छाड्ने गरेको उपमहानगरपालिकाको पशु स्वास्थ्य सेवा शाखाले जनाएको छ ।
नियन्त्रणमा लिइएका सामुदायिक कुकुरमा लुतो, किर्ना, उपियाँ, तथा विभिन्न खालका टियुमरजन्य समस्या देखिएकाले बन्ध्याकरणको बेलामा सामुदायिक कुकुरमा देखिएका समस्याको उपचार पनि गरिएको भेटरिनरी अस्पताल तथा विज्ञ सेवा केन्द्र नेपालगञ्जका निमित्त प्रमुख डा. गणेशबहादुर पुनले बताए ।
उनले नेपालगञ्ज उपमहानगरले सामुदायिक कुुकुरलाई एन्टिरेबिज भ्याक्सिन, रेडियम बेल्ट लगाउँदै र बन्ध्याकरण गरेर छाड्ने कार्यक्रमले रेबिजबाट जोगिन सहज भएको जनाए ।
पछिल्लो समयमा नेपालगञ्जमा कुकुरहरूको सङ्ख्या अत्यधिक बढेको र कुकुरले टोकेपछि रेबिजको भ्याक्सिन लगाउन भेरी अस्पताल पुग्नेहरू पनि बढेकाले सो नियन्त्रणका लागि बन्ध्याकरण शिविर गरिएको नेपालगञ्जका नगर प्रमुख प्रशान्त विष्टले बताए । उनले बन्ध्याकरण शिविरका कारण कुुकुरको वृद्धि रोकिनुका साथै रेबिजको जोखिम घट्ने प्रष्ट पारे ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार