Listen LIVE

च्याम्पियन बन्ने लक्ष्यसहित आज सामोआसँग खेल्दै नेपाल

काठमाण्डौ : एसिया तथा इस्ट एसिया–प्यासिफिक छनोटबाट दुई खेलअघि नै आइसिसी टी–२० विश्वकपमा छानिएको नेपालले च्याम्पियन बन्न आज सामोआसँग खेल्दैछ। 

खेल ओमानको इमारातमा अपरान्ह सवा ४ बजे सुरु हुनेछ। तुलनात्मक रूपमा कमजोर सामोआलाई हराएमा नेपाल एसिया तथा इस्ट एसिया– प्यासिफिक छनोटको च्याम्पियन बन्ने छ।

नेपाल र सामोआबिच पहिलो पटक भिडन्त हुन लागेको हो। यो प्रतियोगितामा अपराजित एक मात्र टिम नेपाल सुपर सिक्समा आठ अङ्कसहित शीर्ष स्थानमा रहेको छ। घरेलु टिम ओमान छ अङ्कसहित दोस्रो स्थानमा छ।

अन्तिम दिन आज ओमानले पनि जापानको सामना गर्ने छ। आज ओमानको जित र सामाओविरुद्ध नेपालको हार भएमा भने रनरेटको आधारमा उपाधि विजेताको छिनोफानो हुनेछ।

एक दिनअघि घरेलु टिम ओमानलाई आठ रनले हराएपछि नेपालका कप्तान रोहित पौडेलले आफ्नो टिमको नजर ट्रफीमा रहेको बताए। उनले आफूहरुले मेहनत गरे अनुसार नतिजा प्राप्त भएको बताए। 

टी–२० विश्वकपको १० औँ संस्करण सन् २०२६ को फेब्रुअरी–मार्चमा भारत र श्रीलङ्कामा संयुक्त रूपमा आयोजना हुँदै छ। सो विश्वकपमा अझ राम्रो प्रदर्शन गर्ने कप्तान पौडेलको प्रतिवद्धता छ।

प्रतिक्रिया