Listen LIVE

लखनउसम्म सीधा रेल चलाउन माग

नेपालगञ्ज : नेपालगञ्ज रोड रेल्वे स्टेसनबाट लखनउका लागि सीधा रेल चलाउन र साँझको समयमा गोंडाबाट नेपालगञ्ज रोडसम्म रेल सेवा विस्तार गर्न माग गरिएको छ। दैनिक रेल यात्री संघले सीमावर्ती क्षेत्रका यात्रुलाई आवतजावतमा सहज बनाउन रेल सेवा विस्तार गर्न सम्बन्धित निकायसँग माग गरेको हो।

संघका अध्यक्ष जाफर इमाम रिजवीले रेल मन्त्रालय, पूर्वोत्तर रेलवेका महाप्रबन्धक र सांसदलाई पत्र पठाएर नेपालगञ्ज रोडबाट लखनउ र गोंडासम्म रेल सेवा सञ्चालन गर्न माग गरेका छन्।

गत अगस्ट ३० मा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ र केन्द्रीय रेलमन्त्री अश्विनी वैष्णवले रेल सेवाको शुभारम्भ गरेका थिए। तर, लखनउका लागि सीधा रेल सेवा नहुँदा सीमावर्ती क्षेत्रका यात्रुले अझै पनि सास्ती खेप्नुपरेको छ।

लखनउ जानुपर्ने बाँके, बर्दिया, कञ्चनपुर, कैलाली र सुर्खेतलगायत जिल्लाका यात्रु बस तथा ट्याक्सीमा निर्भर छन्। उपचार, व्यापार, शिक्षा र सरकारी कामका लागि लखनउ जाने यात्रुले बढी भाडा तिर्नुपरेको छ। सीधा रेल नहुँदा यात्रामा समयसमेत बढी लाग्ने गरेको छ।

रिजवीले नेपालगञ्ज रोडबाट बिहान ६ः३० बजे लखनउका लागि रेल चलाउन माग गरेका छन्। उक्त रेल फर्किएर राति ९ः३० बजे नेपालगन्ज रोड आइपुग्ने व्यवस्था गर्नुपर्ने उनको माग छ। राति १० बजेपछि भारत–नेपाल सीमा बन्द हुने भएकाले रेल समयमै आइपुगे यात्रुलाई नेपाल फर्किन सहज हुने उनले बताएका छन्।

त्यस्तै, साँझ गोंडाबाट नेपालगञ्ज रोडसम्म रेल नहुँदा बहराइचमा पढ्ने विद्यार्थी, वकिल, व्यापारी र कर्मचारीले महँगो भाडा तिरेर बस तथा ट्याक्सी चढ्नुपरेको छ। उनीहरूको आवागमन सहज बनाउन बहराइचबाट साँझ ६ बजे छुट्ने र ७ः३० बजे नेपालगञ्ज रोड पुग्ने गरी रेल चलाउन रिजवीले प्रस्ताव गरेका छन्। नेपालगञ्ज रोड पुगेपछि उक्त रेललाई गोंडातर्फ फर्काउन सकिने उनको भनाइ छ।

यसैगरी, गोंडाबाट साँझ ६ः५० बजे छुट्ने ७५११३ डाउन रेललाई साँझ ५ बजे नै छुटाएर नेपालगञ्ज रोडसम्म सञ्चालन गर्न यात्रुले माग गरेका छन्। रेलको समय परिवर्तन गरी सेवा विस्तार गरे सीमावर्ती क्षेत्रका हजारौँ यात्रुलाई सुविधा पुग्ने र रेलवेको आम्दानीसमेत बढ्ने उनीहरूको अपेक्षा छ।

नेपालगञ्ज रोडबाट लखनउ र गोंडासम्म रेल सेवा विस्तार भए नेपाल र भारतका सीमावर्ती क्षेत्रका बासिन्दालाई उपचार, शिक्षा, व्यापार तथा रोजगारीका लागि आवतजावत गर्न सहज हुनेछ।

प्रतिक्रिया