यदुराज मिश्र/नेपालगञ्ज : जिल्ला प्रशासन कार्यालयले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सोमबार मध्यरातदेखि लागू हुनेगरी भारतसँग सीमा जोडिएको अन्तर्राष्ट्रिय नाका तीन दिनका लागि बन्द गरेकोे छ ।
बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले बाँके जिल्लासँग जोडिएको भारतको उत्तर प्रदेश राज्यअन्तर्गतका बहराइच र श्रावस्ती जिल्लाका सीमानाका निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै बन्द गरेकोे जानकारी दिए । “फागुन १८ गते राति १२ बजेदेखि फागुन २१ गते राति १२ बजेसम्मको अवधिमा सीमानाका बन्द गर्ने निर्णय भएको छ”, उनले भने, “निर्वाचनको समयमा दुवै मुलुकले तीन दिनका लागि सीमानाका बन्द गर्ने परम्परा छ ।”
प्रजिअ तामाङले तराई–मधेसमा मनाइने होली पर्वलाई पनि सौहार्दपूर्ण र निर्वाचनमैत्री ढङ्गले मनाउनका लागि आह्वान गरेका छन् । “होली पर्वका अवसरमा सार्वजनिकस्थलमा भीडभाड गर्ने, होहल्ला गर्ने, जबर्जस्ती रङ दल्ने, मदिरा सेवन गरी सामाजिक सद्भाव खल्बलिने गतिविधि नगर्न अनुरोध गर्दछौँ”, उनले भने, “कुनै पनि राजनीतिक दल वा उम्मेदवारको झन्डा वा चुनाव चिह्नअङ्कित कपडा लगाएर पर्व मनाउनसमेत निषेध गरिएको छ ।”
होलीको अवसरमा मोटरसाइकल दुर्घटनामा वृद्धि देखिएकाले फागुन २० गते मोटरसाइकल प्रयोग गरी होली मनाउन निषेध गरिएको सूचनामा उल्लेख छ । फागुन १९ गतेदेखि निर्वाचन परिणाम घोषणा नभएसम्म जिल्लाभर कुनै पनि राजनीतिक दलको प्रचारप्रसार, सभाजुलुस तथा धार्मिक, सांस्कृतिक र सामाजिक कार्यक्रममा डीजेलगायत ध्वनि प्रदूषण हुने खालका बाजा बजाउन निषेध गरिएको प्रशासनले जनाएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार