नेपालगञ्ज : बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा करिब ६ महिनादेखि बन्द रहेको लिनियर एक्सेलेरेटर अर्थात् लिन्याक मेसिन सोमबारदेखि सञ्चालनमा आउने भएको छ।
अस्पताल प्रशासनको पहलपछि मेसिन आपूर्ति गर्ने कम्पनीले प्राविधिक पठाएर लिन्याक र ब्रेकीथेरापी मेसिन सञ्चालनमा ल्याएको हो।
अस्पतालका रेडियोलोजी विभाग प्रमुख डा. मुकेश यादवका अनुसार सोमबारदेखि रेडियोथेरापी र ब्रेकीथेरापी सेवा नियमित हुनेछ।
मेसिन बन्द हुँदा दैनिक २५ भन्दा बढी बिरामी प्रभावित भएका थिए। सेवा रोकिएपछि बाँकेसहित लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका बिरामी उपचारका लागि भारतका विभिन्न अस्पताल जान बाध्य भएका थिए।
मेसिन खरिदसम्बन्धी विवादका कारण आपूर्तिकर्ताले मर्मत तथा प्राविधिक सेवा रोकेपछि सेवा प्रभावित भएको अस्पतालले जनाएको छ। खरिद सम्झौता र भन्सार कागजातमा मेसिनको एचएस कोड तथा कन्ट्री अफ ओरिजिन फरक देखिएपछि आपूर्तिकर्ताको बाँकी भुक्तानी रोकिएको बताइएको छ।
रु. २७ करोडभन्दा बढी मूल्यमा खरिद गरिएको मेसिनको ६० प्रतिशत रकम भुक्तानी भइसकेको र करिब आठ लाख छ हजार अमेरिकी डलर बराबरको रकम भुक्तानी हुन बाँकी रहेको अस्पतालले जनाएको छ।
मेसिन सञ्चालनमा आएसँगै क्यान्सरका बिरामीलाई रेडियोथेरापी सेवा लिन बाहिर जानुपर्ने बाध्यता कम हुने अस्पतालले जनाएको छ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार