Listen LIVE

चार सय ग्राम ब्राउनसुगरसहित बाँकेमा दुई जना पक्राउ

नेपालगञ्ज : पछिल्लो समय लागुऔषधविरुद्ध कडा रूपमा उत्रिएको प्रहरीले बाँकेबाट ठुलो परिमाणमा ब्राउनसुगर बरामद गरेका छ ।

प्रहरीले नेपालगञ्जबाट चार सय ग्राम लागुऔषध ब्राउनसुगरसहित रुकुम पश्चिमका दुई महिलालाई पक्राउ गरी कानुनी कारबाही प्रक्रिया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठौरका अनुसार जिल्ला प्रहरी कार्यालय बाँके र लागुऔषध नियन्त्रण ब्युरो नेपालगन्ज शाखाबाट खटिएको प्रहरी टोलीले लागुऔषध खरिद–बिक्री भइरहेको सूचनाका आधारमा छापा मारेको थियो । सोही क्रममा दुई जना महिलालाई चार सय ग्राम ब्राउनसुगरसहित पक्राउ गरिएको उनले बताए ।

रुकुम पश्चिम मुसिकोट नगरपालिका–१३ की निशा पुनमगर र सोही जिल्लाको त्रिवेणी गाउँपालिका–२ की ललिता बुढाथोकी पक्राउ परेका छन् । उनीहरूमध्ये निशा पुनमगरको शरीर खानतलासी गर्दा उक्त ब्राउनसुगर बरामद भएको प्रहरीले जनाएको छ । उनीहरूको साथबाट चार सय ग्राम लागुऔषध ब्राउनसुगर र तीन थान मोबाइल फोन बरामद गरिएको छ ।

पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला अदालत बाँकेबाट १० दिनको म्याद थप गरी विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

उक्त लागुऔषध कुन प्रयोजनका लागि कहाँबाट ल्याइएको र कहाँ लैजान लागिएको हो भन्नेबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

पछिल्लो समय सीमापारि भारतको रुपईडिहा र सीमावारि नेपालगञ्ज तथा कोहलपुर लगायतका क्षेत्रमा प्रहरीले लागुऔषधविरुद्ध कडा अभियान सञ्चालन गरेको छ । सोही कारण दुवैतर्फ दैनिकजसो लागुऔषधसहित ओसारपसार र कारोबारमा संलग्नहरू पक्राउ पर्दै आएका छन् ।

प्रतिक्रिया