Listen LIVE

नेपालमा भारतीय मुर्रा राँगाको वीर्यको माग बढ्यो

नेपालगञ्ज : बाँकेको खजुरा गाउँपालिका –२ गौघाटस्थित राष्ट्रिय पशु प्रजनन् कार्यालयमा रहेका भारतीय उन्नत जातका मुर्रा राँगाबाट उत्पादन भएको वीर्यको माग उच्च रहेको छ ।

भारतीय मुर्रा राँगाबाट उत्पादन गरिएका जमेको वीर्यको माग अत्यधिक रहेको र माग धान्न पनि गाह्रो भइरहेको कार्यालयले जनाएको छ । कार्यालय प्रमुख वरिष्ठ पशु विकास अधिकृत डा. खिमानन्द खनालले भारतीय मुर्रा राँगाबाट उत्पादन भएको वीर्यको माग उच्च रहेको बताए । 

उनले भने, 'नेपालमा रैथाने भैँसीको नश्ल सुधार गर्न र दुध तथा मासुको उत्पादन तेब्बरसम्म वृद्धि गर्ने उद्देश्यले नेपाल ल्याइएका भारतीय मुर्रा राँगाबाट भनेजस्तो प्रतिफल पाइन थालेपछि माग उच्च रहेको हो ।'

उनले नेपाली मुर्रा राँगाबाट गर्भाधान भएका भैँसीबाट प्रतिबेत २ हजारदेखि २५ सय लिटरसम्म दुध उत्पादन हुने र जमेको वीर्य उत्पादनका लागि प्रयोग भइरहेको भारतीय मुर्रा राँगाको आमाको ३८ सयदेखि ४ हजार लिटरसम्म प्रतिबेत दुध उत्पादन हुने पाइएको हुँदा माग उच्च रहेको जानकारी दिए । 

भारत सरकारले नेपाललाई २०८० मङसिर महिनामा दिएका १५ वटा भारतीय मुर्रा राँगामध्ये तीनवटा राँगा नेपालगञ्ज कार्यालयमा राखिएका छन् । सातवटा पोखरा र पाँचवटा लाहानका कार्यालयमा रहेका छन् । भारतीय मुर्रा राँगा ल्याइसकेपछि २०८० चैत महिनादेखि वीर्य सङ्कलन र उत्पादन सुरु गरिएको थियो । तीनमध्ये हाल दुई वटा राँगाबाट वीर्य सङ्कलन र उत्पादन भइरहेको छ ।

सङ्कलन र उत्पादन गरिएका वीर्यबाट कृत्रिम गर्भाधान गराएको भैँसीबाट पाडा उत्पादन पनि भइसकेको छ । कार्यालयमा ल्याइएका भारतीय राँगाको वीर्यबाट भैँसीलाई कृत्रिम गर्भाधान गराएर गत वर्ष खजुरा गाउँपालिका –२ 'एलगाउँ' का किसान बमराज रेग्मीले पालेको भैँसीले पाडाको जन्म दिएको थियो । जुन नेपालमा ल्याइएका १५ वटै राँगाका वीर्यमध्येबाट पहिलो उत्पादन थियो ।

तीन वर्षअघिदेखि भारतीय राँगाबाट वीर्य सङ्कलन र उत्पादन सुरु भएपछि हालसम्म ३५ हजार ७२७ डोज जमेको वीर्य उत्पादन भएको छ भने २९ हजार ६३८ डोज वीर्य वितरण गरिएको छ ।

प्रतिक्रिया