Listen LIVE

सिँचाइ विस्तारसँगै हुम्लामा मार्सी धान रोपाइँ सकियो

हुम्ला : हिमाली जिल्ला हुम्लामा यस वर्ष साउनको पहिलो सातासम्म शतप्रतिशत मार्सी धान रोपाइँ सम्पन्न भएको छ । दुर्गम क्षेत्रमा सिँचाइ सुविधा विस्तार हुँदै गएपछि समयमै रोपाइँ सम्पन्न गर्न सहज भएको हो ।

अदानचुली गाउँपालिका–२ का किसान परबहादुर थापाले आफ्नो गाउँमा मार्सी धानको रोपाइँ सम्पन्न भएको बताए । यस वर्ष केही ढिलो भए पनि सबै खेतमा रोपाइँ सकिएको उनको भनाइ छ । गाउँपालिकाका अधिकांश खेतमा सिँचाइ सुविधा पुगेकाले खेती गर्न सहज भएको उनले बताए ।

त्यसैगरी, चङ्खेली गाउँपालिका–२ का छत्त शाहीले हुम्लामै सबैभन्दा बढी मार्सी धान उत्पादन हुने दार्म जिउलामा पनि रोपाइँ सम्पन्न भएको जानकारी दिए । खेत धेरै भएकाले माथिल्लो क्षेत्रबाट सुरु गरिएको रोपाइँ क्रमशः तलका खेतमा सम्पन्न गरिएको उनले बताए ।

सर्केगाड गाउँपालिका–३, उनापानीका कृष्ण महताराले रिप, उनापानी, दुल्ली, मुण्डी, साँया, थाया लगायत गाउँपालिकाभित्रका सबै धानखेती हुने खेतमा रोपाइँ सम्पन्न भएको बताए ।

कृषि विकास कार्यालय हुम्लाका प्रमुख चुडामणि पन्तका अनुसार जिल्लामा कुल पाँच हजार २० हेक्टर खेतीयोग्य जमिन रहेको छ । त्यसमध्ये ६१५ हेक्टर क्षेत्रफल मार्सी धान खेतीका लागि उपयुक्त मानिएको छ । यस वर्ष ५९०.५ हेक्टर क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको उनले बताए । रोपाइँ हुने सबै क्षेत्रफलमा खेती सम्पन्न भएकाले शतप्रतिशत रोपाइँ भएको उनको भनाइ छ ।

कार्यालयका अनुसार धान खेती गरिएको करिब ५०० हेक्टर क्षेत्रमा सिँचाइ सुविधा पुगेको छ भने बाँकी क्षेत्र आकाशे पानीमा निर्भर छ । समयमै पर्याप्त वर्षा भएकाले पनि रोपाइँ सम्पन्न गर्न सहज भएको हो ।

गत वर्ष ५८५ हेक्टर क्षेत्रफलमा धान खेती गरी एक हजार १२० मेट्रिक टन धान उत्पादन भएको थियो । हुम्लामा रासायनिक मलको सट्टा गोठे मल प्रयोग गरी स्थानीय रैथाने मार्सी धान खेती गरिन्छ । हुम्लाको नाम्खा गाउँपालिकाबाहेक अन्य सबै छ गाउँपालिकामा मार्सी धान खेती हुँदै आएको छ ।

प्रतिक्रिया