Listen LIVE

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको अस्पताल भवन निर्माण हुने

दाङ : घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको अस्पताल भवन निर्माण हुने भएको छ । सरकारले आगामी आर्थिक वर्ष २०८२–०८३ को बजेटमा प्रतिष्ठानको चार सय बेडको अस्पताल भवन निर्माणका लागि ७० करोड रुपैयाँ विनियोजन गरेपछि भवन निर्माणको काम अघि बढ्ने भएको हो । 

आर्थिक वर्ष २०८२–०८३ मा विनियोजन गरेको ७० करोड र गत वर्षको मौज्दात रकम १७ करोड गरेर प्रतिष्ठानसँग ८७ करोड रुपैयाँ रहेको छ । उक्त बजेटबाट अस्पताल भवन निर्माणको प्रक्रिया सुरु गरिने प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानको चार सय बेडको नयाँ भवन निर्माणका लागि चार अर्ब ५१ करोडको लागत अनुमान तयार भएको छ । आगामी वर्षका लागि बजेट सुनिश्चितता गर्दै अस्पताल भवन निर्माणको प्रक्रिया सुरु गरिने प्रतिष्ठानका रजिस्ट्रार श्याम लम्सालले जानकारी दिए ।

‘प्रतिष्ठानको चार सय बेडको अस्पताल भवन निर्माणका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो ९६ अर्बको बजेट सिलिङभित्र पारेर प्रतिष्ठानका लागि ७० करोड रुपियाँ विनियोजन गरेको छ’,रजिस्ट्रार लम्सालले भने, ‘अस्पताल निर्माणका लागि मन्त्रालयसँग स्वीकृतिसँगै आगामी वर्षका लागि बजेटको स्रोत सुनिश्चितता गरेर भवन निर्माणको प्रक्रिया थाल्छौं ।’ यी सबै प्रक्रिया सकेर आगामी साउनभित्रै भवन निर्माणका लागि टेन्डर निकाल्ने गरी तयारीमा आफूहरू रहेको उनले बताए । प्रतिष्ठानकै ट्राफिक चोकमा भएको करिब दुई बिघा जग्गामा भवन निर्माणको काम सुरु हुने छ । 

प्रतिष्ठानले अहिले शैक्षिक कार्यक्रमअन्तर्गत एमबिबिएस, बिएससी नर्सिङ, बिएनएस कक्षालगायतका विषयमा अध्यापन गराउँदै आएको छ । प्रतिष्ठानमा अध्ययनरत विद्यार्थीका लागि व्यवहारिक अभ्यास गर्नका लागि चार सय बेडको अस्पताल आवश्यक भए पनि अहिले प्रतिष्ठानले तीन सय २२ बेडबाट सेवा दिँदै आएको छ । विद्यार्थीले त्यही प्रयोगात्मक अभ्यास लिने गर्ने गर्दै आएका छन् । 

प्रतिष्ठानले फिजिसियन, प्रसूति, सर्जन, हाडजोर्नी, बालरोग, मानसिक, छाला, नाक, कान, घाँटी रोगलगायतका विशेषज्ञसहितको सेवा प्रदान गर्दै आएको छ । प्रतिष्ठानले आगामी आर्थिक वर्ष मुटु रोगसम्बन्धी विशेषज्ञ सेवा सञ्चालन गर्ने तयारीमा रहेको रजिस्ट्रार लम्सालले बताए । 

प्रतिष्ठानले आगामी आर्थिक वर्ष २०८२–०८३ मा थप चार वटा स्नातक तहका कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ । आगामी आर्थिक वर्षदेखि स्नातक तर्फ बिएमएलटी, बिएमआइटी, बिपिएच, बिअप्टोमेट्री कार्यक्रम सुरु गर्ने तयारी गरेको प्रतिष्ठानका रजिस्ट्रार लम्सालले जानकारी दिए । अहिले प्रतिष्ठानले एमबिबिएस, बिएससी नर्सिङ, बिएनएस र ब्याचलर अफ फार्मेसीलगायतका विभिन्न शैक्षिक कार्यक्रम सञ्चालन गरेको छ । प्रतिष्ठानमा अहिले करिब दुई सय जना विद्यार्थी अध्ययनरत छन् ।

प्रतिक्रिया