Listen LIVE

बर्दियाको वनभित्र आठ पोखरी निर्माण

बर्दिया : डिभिजन वन कार्यालय बर्दियाले सामुदायिक वनमा पानीको पहुँच सुनिश्चित गर्न जिल्लाका आठ स्थानमा कृत्रिम पोखरी निर्माण गरेको छ ।  गर्मी र हिउँदका बेला पानीको अभावले वन्यजन्तु गाउँतिर पानी खोज्न आउने भएकाले सो जोखिम झेल्न नपरोस् भनी कार्यालयले स्थानीय सामुदायिक वनसँगको सहकार्यमा पोखरी बनाएको हो । 

निर्माण भएको स्थानमा बारबर्दिया नगरपालिका–९, वनगाईको जनकल्याण, वडा नं. १०, बैदामा रहेको बैदा, वडा नं. १०, मेडैयागाउँको पेरहवा, वडा नं. १० र ६ को शोभानगरस्थित बुग्गी हरियाली, वडा नं. ४ पदनाहको भैरव, बढैयाताल गाउँपालिका–८, तिलकाना, बढैयातालको बगदैला र ठाकुरबाबा नगरपालिकास्थित पेरिहुवा चटिया सामुदायिक वन रहेका छन् ।

पदनाहका स्थानीय दरबारी थारूले गर्मीमा वन्यजन्तुको पानीको समस्या न्यूनीकरण गर्न पोखरी बनाइएको जानकारी दिए । बगदैला फाटा सामुदायिक वनका अध्यक्ष कालीचरण थारूले सो वन नदीको तटीय क्षेत्रबाट टाढा रहेका कारण वन्यजन्तुलाई सहज पहुँचका लागि ऐतिहासिक रूपमा पानीको व्यवस्था आवश्यक भएको र यसमा डिभिजनले सहयोग गरेको बताए । 

डिभिजन वन कार्यालय बर्दियाका वन अधिकृत गणेश ऐडीले लुम्बिनी प्रदेश सरकारले बजेट विनियोजन गरेकाले आठ वटा सामुदायिक वनमा पोखरी निर्माण सम्भव भएको र भविष्यमा थप स्थानमा पनि योजना बनाइने बताए । बर्दियामा हाल २५२ वटा सामुदायिक वन छन् भने डिभिजन कार्यालयले ती वनको संरक्षण, रेखदेख र नियमन गर्दै आएको छ ।

प्रतिक्रिया