हुम्ला : हुम्लाको खार्पुनाथ गाउँपालिका–१ मा तीन हप्तादेखि इन्टरनेट अवरुद्ध हुँदा वडा कार्यालयबाट गरिँदै आएको अनलाइनसम्बन्धी काम पूर्ण रूपमा ठप्प भएको छ ।
खार्पुनाथको लालीमा जडान गरिएको वल्र्ड लिङ्कको इन्टरनेट सुचारु नभएपछि वडा कार्यालयबाट दिइने सेवा जन्मदर्ता, मृत्युदर्ता, विवाहदर्ता र बसाइँसराइलगायतका सबै प्रकारका पञ्जीकरण सेवा प्रभावित बनेको छ । उक्त सेवा अवरुद्ध हुँदा स्थानीय नागरिक आवश्यक कामका लागि करिब तीन घण्टा पैदल हिँडेर गाउँपालिका केन्द्र याङ्चु बजारमा धाउनुपर्ने बाध्यता छ ।
वडा नं. १ का वडाध्यक्ष जयबहादुर शाहीका अनुसार इन्टरनेट नहुँदा सबै काम रोकिएको छ । सम्बन्धित निकायमा पटक पटक जानकारी गराउँदा पनि सुनुवाइ भएको छैन । पालिकाबाट पञ्जीकरणका काम सम्पन्न गरेपछि हस्ताक्षरका लागि पुनः वडा कार्यालयमै आउनुपर्ने बाध्यता हुँदा सेवाग्राहीले थप सास्ती खेप्नु परेको अवस्था छ ।
खार्पुनाथ गाउँपालिका–३, रायाको थानामा रहेको नमस्ते टावर पनि एक हप्तादेखि अवरुद्ध हुँदा यस क्षेत्रमा सञ्चार सेवासमेत प्रभावित भएको छ । स्थानीयले नेपाल टेलिकम सिमकोटलाई जानकारी गराए पनि हालसम्म कुनै पहल भएको छैन । इन्टरनेट र सञ्चार सेवा दुवै अवरुद्ध हुँदा खार्पुनाथ गाउँपालिका–१, २ र ३ वडाका करिब पाँच हजारभन्दा बढी सेवाग्राहीको कार्य प्रभावित बनेको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार