नेपालगञ्ज : बाँकेको जानकी गाउँपालिकामा निर्माणाधीन १५ शैय्याको आधारभूत अस्पतालको ९८ प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ । स्थानीय नागरिकका लागि प्रतिक्षाको केन्द्र बनेको उक्त अस्पताल अब सञ्चालनको अन्तिम चरणमा पुगेको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिका अध्यक्ष छब्बन खाँको नेतृत्वमा गरिएको अनुगमनका क्रममा निर्माण टोलीले आगामी ३० दिनभित्र सम्पूर्ण निर्माण कार्य सम्पन्न गरी भवन हस्तान्तरण गर्न निर्माण कम्पनीलाई निर्देशन दिएको प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्यायले बताए ।
प्रमुख प्रशासकीय अधिकृत उपाध्यायले अस्पतालको भौतिक प्रगति लगभग पूरा भइसकेको जानकारी दिँदै अब उपकरण व्यवस्थापन, जनशक्ति व्यवस्था र सेवा सञ्चालनतर्फ ध्यान केन्द्रित गरिएको बताए ।
उनले भने, 'जानकी गाउँपालिकाका नागरिक सामान्य उपचारका लागि पनि नेपालगन्ज, कोहलपुर वा भारतसम्म जानुपर्ने बाध्यता भोग्दै आएका छन् । अस्पताल सञ्चालनमा आएपछि गाउँमै आधारभूत स्वास्थ्य सेवा उपलब्ध हुनेछ र नागरिकले सहज उपचार पाउनेछन् ।'
सात हजार २६३ घरधुरी र ४६ हजार ५३६ जनसंख्या रहेको जानकी गाउँपालिकामा हालसम्म सामान्य स्वास्थ्य उपचारका लागि पनि नागरिकले बाहिर जानुपर्ने अवस्था रहेको थियो । अस्पताल सञ्चालनमा आएपछि उक्त समस्या धेरै हदसम्म समाधान हुने अपेक्षा गरिएको छ ।
वरिष्ठ लेखा अधिकृत मतिन अन्सारीका अनुसार अस्पताल निर्माणका लागि संघीय सरकारबाट १७ करोड ५४ लाख रुपैयाँ लागत अनुमान गरिएको थियो । प्रतिस्पर्धात्मक प्रक्रियामार्फत करसहित ११ करोड ४४ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको उनले जानकारी दिए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार