Listen LIVE

विपन्नलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड

नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका –१८ का विपन्न तथा आर्थिक रूपमा कमजोर परिवारको स्वास्थ्यलाई ध्यानमा राखेर निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण गर्ने अभियान शुरु गरिएको छ ।

सो अभियान अन्तर्गत वडा कार्यालयले विभिन्न टोलमा बसोबास गर्ने आर्थिक रूपमा विपन्न परिवारमध्ये पहिलो चरणमा १०० परिवारलाई स्वास्थ्य बीमा कार्ड निःशुल्क उपलब्ध गराउन शुरु गरेको हो । 

वडाध्यक्ष दिपककुमार बर्माका अनुसार आर्थिक अभावका कारण कुनै पनि नागरिक आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले वडाका सबै विपन्न नागरिकको स्वास्थ्य बीमा गराउने अभियान शुरु गरिएको हो । 

उनले स्वास्थ्य सुरक्षा नागरिकको आधारभूत अधिकार भएकाले विपन्न परिवारको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राखेर सो कार्यक्रम अघि बढाइएको बताए । 

वडाध्यक्ष बर्माले राजनीति जनताको जीवनसँग जोडिनुपर्ने र जनप्रतिनिधिले नागरिकको सुख–दुःखमा साथ दिनुपर्ने मान्यताका साथ स्वास्थ्य बीमा अभियान सञ्चालन गरिएको जनाउँदै यो कार्यक्रम केवल स्वास्थ्य बीमा कार्ड वितरणमा सीमित नभइ आर्थिक रूपमा कमजोर परिवारको स्वास्थ्य सुरक्षाप्रतिको सामाजिक जिम्मेवारी र मानवीय संवेदनाको प्रयास भएको बताए । 

आगामी महिनादेखि थप आवश्यक परिवारको स्वास्थ्य बीमा कार्ड बनाउने प्रक्रिया अघि बढाइने जानकारी दिंदै उनले आवश्यकता र पहुँचका आधारमा अभियानलाई विस्तार गर्दै थप विपन्न परिवारलाई स्वास्थ्य बीमाको दायरामा समेट्ने योजना रहेको जनाए । 

वडाअध्यक्ष बर्माले भने, 'जनताको सेवा नै हाम्रो प्राथमिकता र स्वास्थ्य सुरक्षा नै हाम्रो प्रतिबद्धता हो, त्यसैले यो कार्यक्रम सञ्चालन गरिएको हो ।' वडा कार्यालयले निःशुल्क स्वास्थ्य बीमा गरेपछि सो वडाका विपन्नहरु खुसी भएका छन् । नेपालगञ्ज १८ कारकाँदोका राधेश्यम बर्माले वडाले निःशुल्क बीमा गरिदिएपछि अब स्वास्थ्य उपचारको चिन्ता समाप्त भएको बताए ।

प्रतिक्रिया