काठमाण्डौ : प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले बहुविवाहलाई कानुनी वैधता दिने प्रस्तावित कानुनबारे कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्री अजय कुमार चौरसियाको जवाफ माग गरेका छन् ।
सांसदहरूले मुलुकी देवानी संहिता ऐन, २०७४ लाई संशोधन गरी केही निश्चित परिस्थितिमा बहुविवाहलाई प्रोत्साहन गर्ने गरी कानुन बन्न लागेको भनेर आएको विषयमा स्पष्ट जवाफ दिन सरकारसँग माग गरेका हुन् ।
बैठकमा नेकपा एमालेका सचेतक सुनिता बराल र प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका सचेतक रुपा शोशी चौधरीले बहुविवाह असामाजिक र गैर कानुनी विषय भएकाले कानुन निर्माणका सन्दर्भमा यस्ता विषयमा संवेदनशील बन्नुपर्ने भन्दै कानुन मन्त्री चौधरीसँग प्रस्तावित कानुनका विषयमा जवाफ माग गरिन् ।
सांसदहरूले किसानहरूको लामो समयदेखि खेप्दै आएका मल, बिउ, सिँचाई लगायतका समस्या समाधान गरी कृषिको विकास र कृषकको उत्थानका लागि आवश्यक काम गर्न सरकारको ध्यानाकर्षण गराए ।
सांसदहरूले सरकारले तराई मधेसलाई सङ्कट ग्रस्त क्षेत्र घोषणा गरे पनि राहतका कार्यक्रमहरू घोषणा नगरेको, विद्युतको व्यवस्था, बोरिङ, डिप ट्युबवेल मर्मत हुन नसकेका कारण समस्या बढिरहेको बताए ।
सांसदहरूले किसानको समस्याका बढिरहेको, तराई मधेसमा पानीका मुहान सुक्दै गएका कारण सिँचाई खानेपानी समस्या भएको भन्दै तत्काल राहतको व्यवस्था र दीर्घकालीन समस्या समाधान गर्न माग गरे ।
सांसदहरूले विर अस्पतालमा ६ महिनादेखि डाक्टरहरू भोलेन्टियरका रूपमा काम गरिरहेको र भोलेन्टियरमार्फत अस्पताल चलिरहेको भन्दै अस्पतालमा आवश्यक पूर्वाधार र जनशक्तिको व्यवस्थापन गर्न माग गरे ।
यसैबिच, भिजिट भिसा प्रकरणमा संसदीय छानबिन समितिको माग राख्दै गत जेठ १३ गतेदेखि संसद्मा विरोध गर्दै आएका राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले आज पनि प्रतिनिधि सभा बैठक बहिष्कार गरेको छन् ।
नेपाली काँग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले रास्वपा र राप्रपाले ७० दिनदेखि संसद् बहिष्कार गरेर जनतामा भ्रम छर्ने काम गरिरहेको भन्दै आपत्ति जनाए ।
प्रमुख सचेतक घिमिरेले रास्वपा र राप्रपाले आफ्ना विषय राख्ने, सदनबाट बाहिरिने गरेर संसद्को दुरुपयोग गरिरहेको भन्दै त्यस्ता क्रियाकलाप नरोकिए आफूहरू त्यसका विरुद्ध उत्रिन पर्ने अवस्था आउन सक्ने चेतावनीसमेत दिए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार