Listen LIVE

बाँकेमा एक सातापछि घाम लाग्यो, सर्वसाधारणलाई राहत

यदुराज मिश्र/नेपालगञ्ज : बाँकेमा एक सातापछि बिहीबार पारिलो घाम लाग्दा सर्वसाधारणले चिसोबाट राहत पाएका छन् । निरन्तर बाक्लो हुस्सु लागेर शीतलहर चल्दा यहाँको जनजीवन असाध्य कष्टकर बनेको थियो । बिहीबार मध्यान्हबाट भने बाक्लो हुस्सु र शीतलहर रोकिएर पारिलो घाम लाग्न थालेको हो । 

नेपालगञ्जका समाज सेवी विष्णुलाल कुमालले बिहीबार बिहानदेखि बल्ल पारिलो घाम लाग्दा मानिससँगै चौपाया र पंक्षीलाई राहत मिलेको बताए । एक सातासम्म निरन्तर शीतलहर चलेर घामनै नलाग्दा किसानलाई आफूले पालेको चौपाय र पंक्षी जोगाउन हम्मेहम्मे पर्न थालिसकेको थियो । एक हप्तापछि घाम लाग्दा स्थानीय नुहाइधुवाइको काममा व्यस्त देखिएका छन् ।

घाम नलागेर कपडा नसुक्दा स्थानीय हैरान थिए । चिसोले कठ्याङग्रिएका बालबालिका, वृद्धवृद्धा तथा अशक्त व्यक्तिहरुलाई समेत एक सातापछिको घामले न्यानो प्रदान गरेको छ । 

यहाँका बस्तीहरूमा निरन्तरको चिसोपछि पारिलो घाम लाग्दा जनजीवन सहज बनेको छ । डुडुवा गाउँपालिका वडा नं. ६ हिरमिनियाका स्थानीय बंशीलाल मौर्यले बिहीबार दिउँसोबाट बल्ल पारिलो घाम ताप्न पाइएको जानकारी दिए । 

चिसो अत्यधिक बढेपछि बाँकेका केही विद्यालयमा बिदासमेत दिइएको थियो । एक सातापछि घाम लाग्दा ज्याला मजदुरीमा निस्कने मजदुर र खेतबारीको काममा जानु पर्ने किसानलाई समेत सहज भएको छ । 

हुस्सु र शीतलहरका कारण भर्खरै फूलेको तोरीसहितका बालीमा लाही कीराको प्रकोप अत्याधिक देखिएको किसानले गुनासो गरेका छन् ।

प्रतिक्रिया