दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले राजीनामा दिने भएका छन् । आज दिउँसो ४ बजे बोलाइएको लुम्बिनी प्रदेशसभा बैठकमा सम्बोधनपछि चौधरीले राजीनामा दिने उनले तयारी गरेका हुन् ।
कांग्रेस नेता तथा मन्त्री रोज राणाले मुख्यमन्त्री चौधरीले आजै सदनमा सम्बोधन गरेर राजीनामा दिने बताए ।
बिहीबार अहिलेसम्म प्रदेश सरकारमा रहेको जसपाको केन्द्रीय समितिले समेत नयाँ गठबन्धनमा सामेल हुन प्रदेश कमिटीलाई निर्देशन गरेसँगै मुख्यमन्त्रीको बहुमत जुटाउने प्रयास असफल भएको हो ।
केन्द्रीय राजनीतिमा सत्ता समीकरण परिवर्तनसँगै नेकपा माओवादी केन्द्रको बहिर्गमनपछि अल्पमतमा परेका मुख्यमन्त्री चौधरीले विश्वासको मत पाउने सम्भावना नभएपछि राजीनामा दिन लागेका हुन्। दिउँसो ४ बजे बस्ने प्रदेश सभा बैठकमा चौधरीले मुख्यमन्त्रीको हैसियतमा आफ्नो सम्बोधन गर्ने र राजीनामा दिने तयारी गरेका हुन् ।
सभामुख तुलाराम घर्ती मगरलाई मुख्यमन्त्रीले बिहीबार टेलिफोनमार्फत प्रदेश सभामा सम्बोधन गरेर राजीनामा दिने तयारी गरेकाले त्यसअनुसार कार्य योजना बनाउन भनेको जानकारी दिइसकेका छन् ।
गत वैशाख १४ गते ८ दलका ५३ सांसदको समर्थनमा मुख्यमन्त्री बनेका चौधरी ११ सांसद रहेको नेकपा माओवादी केन्द्रले फागुन २३ गते समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका थिए । ८७ जना प्रदेशसभामा बहुमतका लागि ४४ सांसद चाहिन्छ ।
नयाँ गठबन्धनमा आबद्ध एमालेसँग २९, माओवादीसँग १० (सभामुखबाहेक), जसपासँग ३ र नेकपा एकीकृत समाजवादीसँग १, स्वतन्त्र १ प्रदेशसभा सदस्य छन् ।
गठबन्धनले स्वतन्त्र, नागरिक उन्मुक्ति पार्टी, लोसपा, जनमत पनि सहकार्यमा आउने दाबी गरेको छ। लुम्बिनी प्रदेशमा नयाँ गठबन्धनको माओवादी केन्द्रले सरकारको नेतृत्व गर्ने गरी केन्द्रमा दलहरूले सहमति गरेका छन् ।
हाल सरकारमा रहेका लोसपा नेता तथा गृहमन्त्री सन्तोष पाण्डेयले पनि नयाँ गठबन्धनलाई सहयोग गर्ने संकेत गरेका छन् । एमाले र माओवादीका नेताहरुसँग उनले त्यो संकेत गरेपनि औपचारिक निर्णय भने सार्वजनिक गरिएको छैन ।
2024-04-04
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार