Listen LIVE

बाँके क्षेत्र नं २ को ३ वर्ष खेर गयो : इश्तियाक राई

नेपालगञ्ज : नेकपा एमालेबाट बाँके क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार मोहम्मद इश्तियाक राईले बाँके निर्वाचन क्षेत्र नं २ को पछिल्लो ३ वर्ष खेर गएको बताएका छन् । आइतवार नेपालगञ्जको वडा नं १ स्थित सुन्दर नगरमा आयोजित चुनावी कार्यक्रममा सम्बोधन गर्दै उम्मेदवार राईले यो क्षेत्रबाट निर्वाचित अघिल्लो कार्यकालका संघीय सांसदले कुनै काम गर्न नसकेको आरोप लगाए ।  

‘यसअघिका संघीय सांसदले ३ वर्षे कार्यकालमा यो क्षेत्रमा संघीय सरकारबाट न कुनै अनुदान ल्याउन सक्नुभयो, न कुनै आयोजना, न कुनै योजना ।’, उम्मेदवार राईले भने, ‘जस्तो ३ वर्ष पहिले थियो अहिले पनि त्यस्तै छ । म निर्वाचित भएपछि प्रदेश र संघीय सरकारसँग समन्वय गरी यो ठाउँको समस्या समाधान गर्न अधिकतम पहल गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।’  

राईले आफ्नो पहलमा बाँके जिल्लामा ल्याइएका योजना–आयोजनाहरूमध्ये धेरै पूरा भएको र केही निर्माणाधिन रहेको दाबी गरे ।

यसैबीच प्रतिनिधि सभा निर्वाचनको तिथि नजिक आउदै गर्दा बाँके क्षेत्र नं. २ का उम्मेदवार राईले घरदैलो र भेटघाटलाई तीब्र पारेका छन् ।

नेकपा एमाले बाँके निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार राईले आईतबार बिहान ललित कला केन्द्र परिवारसँग भेटघाट र छलफल गरेका छन् ।

यसैगरी उनले नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १८ को नागरिकटोलमा मतदाताहरूको घरदैलोमा पुगेर आफ्ना पक्षमा मत मागेका छन् । घरदैलो क्रममा उनका साथमा अगुवा नेता तथा कार्यकर्ताहरु रहेका थिए ।

प्रतिक्रिया