नेपालगञ्ज : नेकपा एमालेबाट बाँके क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार मोहम्मद इश्तियाक राईले नेपालगञ्जको अर्थतन्त्र उकास्न सडक मार्ग विस्तारलाई आफूले प्राथमिकतामा राखेको बताएका छन् । आज नेपालगन्जको वडा नं. ९ श्रद्धानगरमा आयोजित कोण सभामा राईले सडक कनेक्टिभिटीले यहाँको अर्थतन्त्र सुदृढ पार्न सघाउने भनाई राखे ।
नेपालगञ्ज प्रादेशिक राजधानी नभइसकेपछि यहाँको अर्थतन्त्र सुक्दै गएको छ। अर्थतन्त्र चलायमान बनाउन हामीले सडक र भौतिक पूर्वाधार निर्माणमा ध्यान दिनुपर्ने हुन्छ ।’, राईले भने, ‘बाँके जिल्ला छोएर पूर्वपश्चिम यात्रा गर्दा नेपालगन्ज हुँदै जाने सडकमार्ग निर्माण गर्ने मेरो योजना छ । तपाईंहरूले निर्वाचित गर्नुभयो भने म कञ्चनपुर हुँदै दाङ जोडिने छुट्टै नियमित मार्ग बनाउन म पहल गर्छु । ’
आफूले विगतमा यो क्षेत्रका लागि धेरै काम पनि गरेको तथा पूर्वाधार र नीतिगत विकासका लागि स्पष्ट एजेन्डाका साथ प्रस्तुत भएकाले आफूप्रति मतदाताहरूको समर्थन बढिरहेको राईले दाबी गरे । उनले भेरी अस्पताललाई विशिष्टिकृत सेवा दिन सक्षम बनाउने, सामुदायिक विद्यालयहरूको स्तरोन्नति गर्ने, किसानहरूलाई समयमै मल तथा वीउ उपलब्ध गराउने लगायत भौतिक र नीतिगत पहलकदमी लिने जानकारी दिए ।
नवपुस्ता र पुरानो पुस्ताबीच षड्यन्त्रपूर्वक द्वन्द्व बढाउन भइरहेको प्रयासलाई सफल हुन नदिने र पारस्परिकता बढाउन भूमिका निर्वाह गर्ने पनि राईले बताएका थिए । राईले आजै वडा नं. ९ को नयाँ बस्ती, गुड्डुटोल, वडा नं २० को माईगाउँ, इदगाटोल र नयाँ बस्तीमा पुगेर मतदाताहरूसमक्ष आफ्ना चुनावी एजेन्डाहरू राखेका थिए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार