बर्दिया : बर्दियाको राजापुरमा चितुवाको आक्रमणबाट १३ वर्षीया किशोरीको मृत्यु भएको छ । राजापुर नगरपालिका–१० मझराकी कमलासिंह ठकुरीको चितुवाको आक्रमणबाट घटनास्थलमै मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक रेशम बोहराका अनुसार सोमबार साँझ आँगनमा खेलिरहेका बेला चितुवाले किशोरीमाथि आक्रमण गरी घिसारेर लगेको थियो । बेपत्ता भएकी किशोरीलाई अभिभावकले खोजी गर्ने क्रममा घरदेखि करिब ३०० मिटर पश्चिम–दक्षिणतर्फ सिमलको झ्याङमा शव फेला परेको थियो ।
चितुवाको आक्रमणबाट मृत्यु भएकी किशोरीको घाँटी तथा शरीरका संवेदनशील अङ्गमा चोट लागेको अवस्थामा शव फेला परेको प्रहरी नायब उपरीक्षक बोहराले जानकारी दिए ।
बर्दियाको राजापुर क्षेत्रमा चालु आर्थिक वर्षमा चितुवाबाट मृत्यु भएको यो दोस्रो घटना हो । गत असोज २२ गते पनि चितुवाको आक्रमणबाट राजापुर नगरपालिका–३, तिघ्राका ४२ वर्षीय मङ्गल थारुको मृत्यु भएको थियो । उक्त चितुवालाई डिभिजन वन कार्यालय बर्दियाले दुईवटा खोर -केज) राखेर एक हप्तामा नियन्त्रणमा लिएको थियो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार