नेपालगञ्ज ::मोबाइलमा भिडियो बनाउने क्रममा भेरी नदीमा पसेका नेपालगञ्जका दुई युवा नदीमा बगेर बेपत्ता भएका छन् ।
बेपत्ता हुनेमा नेपालगञ्ज उपमहानगरपालिका–७ का १८ वर्षीय हर्सित तमोली जयसवाल र आमिर अलि शाह रहेका छन् । उनीहरू घुम्नका लागि सुर्खेत पुगेका बेला भेरी नदीको पुल नजिक भिडियो बनाउने क्रममा नदीमा पसेपछि बगेको आफन्तले बताएका छन् ।
हर्सितका पिता बुधेश जयसवालका अनुसार सुर्खेत घुमेर नेपालगञ्ज फर्किने क्रममा मङ्गलबार बिहान उनीहरू भेरी नदीको पुल नजिक पुगेका थिए । मोबाइल स्ट्यान्डमा राखेर भिडियो खिच्ने क्रममा दुवै जना नदीमा पसेको र नदीको तीव्र बहावले बगाएको उनले बताए ।
मोबाइल स्ट्यान्डमा रहेको भिडियोमा दुवै जना नदीमा बगेको दृश्य देखिएको तथा उनीहरूले प्रयोग गरेको मोटरसाइकल र लुगा नदी किनारमा भेटिएको जयसवालले जानकारी दिए ।
बेपत्ता युवाका आफन्तले खोजी कार्य प्रभावकारी नभएको भन्दै तत्काल गोताखोर टोली परिचालन गर्न माग गरेका छन् । जयसवालले स्थानीय प्रहरी र प्रशासनसँग खोजीका लागि आग्रह गर्दा पनि सुनुवाइ नभएको गुनासो गरे ।
त्यस्तै, आमिरका आफन्त सराफत शाहले प्रहरीले घटनास्थलको मुचुल्का तयार पारे पनि त्यसपछि प्रभावकारी खोजी कार्य नभएको बताउँदै तत्काल खोजी गर्न आग्रह गरे ।
जिल्ला प्रशासन कार्यालय सुर्खेतले गोताखोर परिचालनका लागि निर्णय हुनुपर्ने र निर्णयपछि मात्रै टोली परिचालन गर्न सकिने जवाफ दिएको बेपत्ता युवाका आफन्तको भनाइ छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कविन्द्रसिंह बोहोराले घटना भएको पुष्टि गर्दै खोजीका लागि पीडित परिवारबाट निवेदन प्राप्त भएको बताए । गोताखोर टोली परिचालन गर्न सम्बन्धित निकायलाई आग्रह गरिएको उनले जानकारी दिए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार