Listen LIVE

जानकी गाउँपालिकाद्वारा कन्या विद्यालय सञ्चालन

जानकी (बाँके) : मधेशी तथा मुस्लिम समुदायका बालिकालाई विद्यालयसम्म टिकाइ राख्ने उद्देश्यसहित बाँकेको जानकी गाउँपालिकाले कन्या विद्यालय सञ्चालनमा ल्याएको छ । सामाजिक परम्परा, सुरक्षा चिन्ता र पहुँचको अभावका कारण विद्यालयबाट टाढा रहेका छोरीहरूका लागि यो विद्यालय आशाको केन्द्र बनेको छ ।

शैक्षिक सत्र २०८० देखि जानकी गाउँपालिका–३ मानपुरस्थित श्री नेपाल राष्ट्रिय कन्या आधारभूत विद्यालयमा छात्राका लागि मात्रै कक्षा ८ सम्म अध्यापन सुरु गरिएको हो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत परसुराम उपाध्यायका अनुसार हाल विद्यालयमा ४२० जना छात्रा अध्ययनरत छन् । उनले कक्षा १२ सम्म विस्तार गर्ने दीर्घकालीन योजना रहेको जानकारी दिए ।

गाउँपालिकाले ९० लाख रुपैयाँको लागतमा कन्या विद्यालय सञ्चालन गरेको हो। सङ्घीय सरकारको विशेष अनुदानबाट प्राप्त ५० लाख रुपैयाँबाट विद्यालयको पर्खाल र शौचालय निर्माण गरिएको छ भने गाउँपालिकाले थप ४० लाख रुपैयाँ विनियोजन गरी आवश्यक पूर्वाधार तयार पारेको छ । नेपालगञ्जपछि जिल्लामा कन्या विद्यालय सञ्चालन गर्ने दोस्रो स्थानीय तहका रूपमा जानकी गाउँपालिका चिनिएको छ ।

गाउँपालिका अध्यक्ष छब्बन खाँका अनुसार विद्यालयमा निःशुल्क शिक्षा, शैक्षिक सामग्री, पोसाक, यातायात, स्वच्छ खानेपानी र शौचालयको व्यवस्था गरिएको छ । छवटै वडाबाट छात्रालाई समेट्ने गरी यातायातको व्यवस्था गरिएको र आवश्यकताअनुसार साधन थपिँदै जाने उनले बताए ।

अभिभावकको सुरक्षा चिन्तालाई ध्यानमा राख्दै विद्यालयमा शिक्षिका तथा कर्मचारी महिला मात्र राखिएको छ । गाउँपालिकाका प्रवक्ता टिकानाथ यादवका अनुसार मधेश तथा मुस्लिम समुदायमा छोरीलाई घरबाहिर पठाउन अभिभावकमा सङ्कोच हुने भएकाले अलग्गै कन्या विद्यालय सञ्चालन गरिएको हो । घरदेखि विद्यालय र विद्यालयदेखि घरसम्म सुरक्षित यातायातको व्यवस्था भएपछि अभिभावकहरू ढुक्क भएको उनले बताए ।

जानकी गाउँपालिकामा हाल ४५ वटा विद्यालय सञ्चालनमा छन् । सामाजिक विकास समिति संयोजक राम अचल धोबीले अब विद्यालयको स्तर वृद्धि गर्दै गुणस्तरीय शिक्षामा केन्द्रित हुने बताए । शिक्षा अधिकृत कृष्णाकुमारी भण्डारीका अनुसार विद्यालयमा विज्ञान प्रयोगशाला र कम्प्युटर ल्याबको व्यवस्था गरिएको छ र आगामी शैक्षिक सत्रबाट कक्षा ९ सञ्चालन गरिनेछ ।

सूचना प्रविधि अधिकृत विकास जिसीले कन्या विद्यालयसँगै डिजिटल शिक्षालाई प्राथमिकतामा राखिएको बताए । उनका अनुसार कम्प्युटर ल्याब, आधारभूत सूचना प्रविधि शिक्षा र डिजिटल सिकाइ सामग्री प्रयोग गरिएको छ। आगामी दिनमा अनलाइन कक्षा र ई–लर्निङ सामग्री विस्तार गरिनेछ ।

परम्परागत सोच र संरचनागत अवरोधबीच छोरीहरूको भविष्य उज्यालो बनाउने लक्ष्यसहित सञ्चालनमा आएको जानकी गाउँपालिकाको कन्या विद्यालय शिक्षामार्फत सामाजिक रूपान्तरणको उदाहरण बनेको छ । यहाँ छात्राहरू शिक्षा मात्र होइन, आत्मविश्वास र सुरक्षित भविष्यतर्फ अघि बढिरहेका छन् ।

प्रतिक्रिया