Listen LIVE

बाँकेमा साउन महिनामा १४४ अपराधका मुद्दा दर्ता

नेपालगञ्ज : जिल्ला प्रहरी कार्यालय बाँकेले साउन महिनामा अपराध अनुसन्धान तथा नियन्त्रण, शान्ति सुरक्षा, लागूऔषध नियन्त्रण, सवारी दुर्घटना व्यवस्थापन तथा नागरिक सहायता लगायतका क्षेत्रमा उल्लेख्य गतिविधि गरेको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार साउन महिनामा विभिन्न प्रकृतिका १४४ वटा मुद्दा दर्ता भएका छन्। तीमध्ये जघन्य तथा गम्भीर अपराधका ९, सामान्य अपराधका ८४, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित १५ र आर्थिक अपराधका ३६ वटा मुद्दा रहेका छन्।

यस अवधिमा चालु मुद्दाका १२६ जना प्रतिवादी पक्राउ परेका छन् भने सार्वजनिक चासो रहेका २३ वटा पेण्डिङ मुद्दाको सफल अनुसन्धान गरिएको प्रहरीले जनाएको छ। सम्पत्ति शुद्धीकरणसम्बन्धी भने कुनै मुद्दा दर्ता नभएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

फैसला कार्यान्वयनतर्फ ८० जना पक्राउ परेका छन्। पक्राउ परेकाबाट ४५ वर्ष ३ महिना २३ दिन कैद तथा रु. ४७ लाख १० हजार ३५१ बिगो/क्षतिपूर्ति कार्यान्वयन भएको बाँके प्रहरीले जनाएको छ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकतर्फ १०५ वटा उजुरी परेकोमा १०३ वटा फछ्र्यौट  भएका छन् भने २ वटा फछ्र्यौट  हुन बाँकी छन्। पिडित तथा पिडकको उमेर समूह विश्लेषण गर्दा १८–२५ वर्षका ७६ जना र २६–३९ वर्षका २९ जना रहेका छन्।

प्रहरीका अनुसार हराएका व्यक्तितर्फ महिला २०, बालिका २० र बालक ४ जना रहेका थिए। तीमध्ये महिला १६, बालिका १७ र बालक ४ जना फेला परेका छन्। महिला ४ जना र बालिका ३ जना भने फेला पर्न बाँकी रहेको विवरणमा उल्लेख छ।

घरेलु हिंसातर्फ ६३ वटा उजुरी परेका थिए। तीमध्ये ६१ वटा मिलापत्र गराइएको वा अदालत पठाइएको छ। प्रहरी कार्यालयमा प्रत्यक्ष रूपमा परेको ठाडो उजुरीतर्फ ५७२ वटा उजुरी दर्ता भएको विवरणमा उल्लेख छ।

प्रतिक्रिया