बर्दिया : जिल्ला खेलकुद विकास समिति, बर्दियाको अधिनमा रहेको गुलरिया–४ तुलापुरस्थित कभर्ड हल र खेलकुद मैदान कर्मचारीको बेवास्ताले अस्तव्यवस्त भएको छ । कभर्ड हलमा पिउने पानीदेखि विद्युत छैन भने वस्तुभाव चराउने मैदान भएको छ ।
कभर्ड हलमा कर्मचारी बस्ने आवास भए पनि कोही नबस्दा जीर्ण भइसकेको छ । कभर्ड हलमा रहेको शौचालय अज्ञात समूहले तोडफोड गरेको धेरै दिन भयो । खेलाडीलाई शौच गर्न समस्या भएको छ । एथलेक्सिका खेलाडी गोपिन्द्र सुनारले कभर्ड हल गौचरन मात्रै नभई विद्युत, पिउने पानी र शौचालयको अभाव छ । पानी पिउनका लागि नजिकै रहेको बबई क्याम्पसमा जान खोजे पनि सहज नहुने उनले बताए । कभर्ड हल सुरक्षाविहीन हुँदा तारबार समेत भत्काएर पशु चौपाया चौरमा ल्याउने बाटो बनाइएको छ । अस्तव्यस्त मैदान गाडी सिक्ने स्थल भएको गुनासो खेलाडीको छ ।
खेलाडी हिम विकले कभर्ड हल बेवारिस अवस्थामा पुगेकोकै कारण जसलाई जे मन लाग्यो कवडहल अस्तव्यस्त भएको बताए । 'खेल्न आएका खेलाडीका लागि कुनै प्रशिक्षक आउँदैनन्,' उनले भने, 'कभर्ड हलदेखि ५ सय मिटर दुरीमा खेलकुद समितिको कार्यालय छ तर कर्मचारीले कवडहलको अनुगमन समेत गर्दैनन् ।' जिल्ला स्तरीय खेलकुद प्रतियोगिता हुने कभर्ड हलको ट्रयाक निर्माण भएको ५ वर्षमै जीर्ण भएको छ । जिल्लामा आयोजना हुने फुटबल, भलिबल, करााते, तेक्वान्दो, दौडलगायतका खेलकुद प्रतियोगिता यही हुने गरेका छन् ।
२०३६ सालमा खेलकुद विकास समितिको सात बिघा बढी जग्गामा कभर्ड हल र खेलकुद मैदान बनाइएको थियो । कर्मचारीका लागि बनाइएको आवास र कार्यालय सञ्चालन नभएको करिब २० वर्ष भयो । विद्युतको रकम नतिर्दा लामो समयदेखि लाइन काटिएको समितिले जनाएको छ ।
जीर्ण कभर्ड हल मर्मतका लागि बजेटको अभाव देखाउँदै खेलकुद विकास समिति पञ्छिन खोज्ने गरेको छ। बजेट नभएकै कारण मैदान र कभर्डहल मर्मत गर्न नसकिएको खेलकुद समितिका प्रमुख भुपेन्द्र पुन मगरले बताए । स्याहार सम्भारको अभावमा करिब दुई दशकदेखि जीर्ण बनेको कभर्ड हलको भवन समेत सम्बन्धित निकायले हेर्न छाडेको एथलेटिक्सका खेलाडी दिपेश दहितले गुनासो पोखे । 'समितिका कर्मचारीले कभर्ड हलको चौरबाट चौपाया चरन बन्द गरिदिए हुन्थ्यो,' उनले भने, 'खेलाडीका लागि पिउने पानीको व्यवस्था अविलम्ब हुनु पर्छ ।'
मंसिर १६ देखि २९ गतेसम्म दशौं राष्ट्रिय खेलकुद हुने तय भएको छ । बर्दियामा भने जुडो र तेक्वान्दो खेलबाहेक अरु प्रशिक्षक छैनन् । एथलेटिक्स, कराते, उसु, फुटबल, क्रिकेट, खोखो, व्याटमिन्टन, कुस्ती, बक्सिङ, भारोत्तोलनलगायतका प्रशिक्षकविहीन छन् ।
जिल्ला खेलकुद विकास समितिका अनुसार उसु, कराते, तेकान्दोलगायत चार प्रशिक्षकको दरबन्दी रिक्त छ । प्रतियोगिता हुने समय मात्र कर्मचारीको ध्यान जाने र प्रशिक्षकसमेत नियमित नआउँदा खेलाडीले अभ्यास गर्न नपाएको गुनासो गरेका छन् । समितिका प्रमुख भुपेन्द्र पुनमगरले केन्द्रसँग पटक पटक माग गरे पनि प्रशिक्षक नपठाएको बताए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार