बर्दिया : जङ्गली हात्तीले बस्ती र खेतीबालीमा क्षति पु–याउन थालेपछि बर्दियाको मधुवन नगरपालिका–३, थनौरागाउँमा विद्युतीय तारबार जडान गर्न थालिएको छ । नेपाल–भारत सीमाक्षेत्रमा पर्ने थनौरागाउँमा हात्तीको प्रवेश रोक्न उज्यालो नेपालको आर्थिक सहयोग, बर्दिया राष्ट्रिय निकुञ्जको समन्वय तथा स्थानीयवासीको श्रमदानमा तारबार निर्माण भइरहेको हो । पहिलो चरणमा करिब एक हजार पाँच सय मिटर विद्युतीय तार जडान गरिने जनाइएको छ ।
भारतको कर्तनिया वन्यजन्तु आरक्षसँग जोडिएको खाता जैविकमार्ग हुँदै बर्षेनि जङ्गली हात्ती नेपाल प्रवेश गर्ने गरेका छन् । हात्तीले थनौरा क्षेत्रमा स्थानीयले लगाएको धान, मकैलगायतका अन्नबाली नष्ट गर्नुका साथै घर तथा गोठमा समेत क्षति पु–याउने गरेका छन् । हात्तीको आवतजावतका कारण स्थानीयवासी त्रसित छन् । स्थानीय प्रकाश चौधरीले हात्तीका कारण प्रत्येक वर्ष खेतीबालीमा क्षति हुने गरेको बताए । विद्युतीय तारबार निर्माण भएपछि गाउँमा हात्तीको प्रवेश केही हदसम्म नियन्त्रण हुने अपेक्षा गरिएको उनले बताए ।
'बर्षौंदेखि हात्तीका कारण खेतीबालीमा क्षति हुँदै आएको छ,' उनले भने, 'तारबारले हात्तीको आवतजावत घट्ने र स्थानीयलाई केही राहत मिल्ने आशा छ ।' स्थानीय शरद राईले पनि विद्युतीय तारबारले गाउँमा हात्ती प्रवेश रोक्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनका अनुसार वनक्षेत्रको सीमामा तारबार निर्माण भएपछि हात्ती बस्तीमा पस्न खोज्दा विद्युतीय झट्का लाग्ने भएकाले हात्तीलाई फर्काउन सहयोग पुग्ने छ ।
उज्यालो नेपालले आवश्यक तार तथा ब्याट्री उपलब्ध गराएपछि स्थानीयवासीले श्रमदानमार्फत तारबार जडान गरिरहेका छन् । संस्थाको 'हात्ती मेरो साथी' अभियान अन्तर्गत वन्यजन्तु र मानवबिच द्वन्द्व न्यूनीकरणका लागि कार्यक्रम सञ्चालन हुँदै आएको अभियानका अभियन्ता रमेश थापाले बताए । खाता कोरिडोर बर्दिया राष्ट्रिय निकुञ्ज र भारततर्फको वनक्षेत्र जोड्ने महत्त्वपूर्ण जैविकमार्गका रूपमा रहेको छ । वन्यजन्तुको प्राकृतिक आवागमनलाई कायम राख्दै बस्ती तथा खेतीबाली जोगाउने उपायका रूपमा विद्युतीय तारबारलाई प्रयोग गर्न थालिएको हो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार