Listen LIVE

क्यान्सर अस्पताल खजुराका ४४ स्वास्थ्य उपकरण मर्मत

नेपालगञ्ज : बाँकेको खजुरामा रहेको सुशील कोइराला प्रादेशिक क्यान्सर अस्पतालमा लामो समयदेखि बिग्रिएर थन्किएका ४४ वटा महत्त्वपूर्ण स्वास्थ्य उपकरण मर्मत गरी सञ्चालनमा ल्याइएपछि बिरामीलाई उपचारमा सहज भएको छ।

सुशील कोइराला प्रादेशिक क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. नीरज भट्टराईले लामो समयदेखि बिग्रिएर थन्किएका अत्यावश्यक उपकरण मर्मतसम्भार गरी सञ्चालनमा ल्याइएपछि बिरामीको उपचारमा सहजता भएको बताए।

उनका अनुसार उपकरण मर्मतका लागि राष्ट्रिय आविष्कार केन्द्रसँग सम्झौता भएको थियो। सोही सम्झौताअनुसार केन्द्रका प्राविधिक केही दिनअघि अस्पतालमा आएर ४४ वटा उपकरण मर्मत गरी फर्किएका थिए।

अस्पतालमा लामो समयदेखि बिग्रिएर थन्किएका ६० वटा आवश्यक उपकरणमध्ये ४४ वटा उपकरण राष्ट्रिय आविष्कार केन्द्रबाट आएको प्राविधिक टोलीले मर्मत गरेको अस्पतालले जनाएको छ।

अस्पतालका अनुसार मर्मत गरिएका उपकरणमा उपचारका लागि अत्यन्तै आवश्यक मानिने दुईवटा एक्सरे मेसिन, एउटा अल्ट्रासाउन्ड मेसिन, तीनवटा भेन्टिलेटर, एउटा एनेस्थेसिया मेसिन, एउटा केमो क्याबिनेट, माइक्रोस्कोप र ल्याप्रोस्कोपी टावरलगायत ४४ वटा उपकरण छन्।

उपकरण मर्मतपछि बिरामीले एक्सरे, अल्ट्रासाउन्डलगायतका सेवाका लागि बाहिर जानुपर्ने बाध्यता हटेको अस्पतालका सूचना अधिकारी डा. प्रवीण गुप्ताले बताए ।

उनका अनुसार बिग्रिएका उपकरणमध्ये क्यान्सरसम्बन्धी रोगको परीक्षण तथा उपचारमा प्रयोग हुने विभिन्न मेसिन तथा उपकरण मर्मत भइसकेकाले उपचारमा सहजता भएको छ।

खजुरा गाउँपालिकाका पूर्वअध्यक्ष किस्मतकुमार कक्षपतिले लामो समयदेखि बिग्रिएर थन्किएका अस्पतालका महत्त्वपूर्ण उपकरण मर्मतसम्भार भएपछि बिरामीले सामान्य परीक्षणका लागि समेत बाहिर जानुपर्ने बाध्यता अन्त्य भएको बताए ।

गत साउनको पहिलो साता राष्ट्रिय आविष्कार केन्द्रका बायोमेडिकल टिम लिडर इन्जिनियर उमेश किरातको नेतृत्वमा पाँच सदस्यीय प्राविधिक टोली अस्पतालमा आएर ४४ वटा उपकरण मर्मतसम्भार गरी फर्किएको थियो।

प्रतिक्रिया