काठमाण्डौ : नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्य अन्जन विष्टले देशमा लिग नहुँदा बंगलादेशमा लिग खेल्न जानुपरेको र चाँडो भन्दा चाँडो नेपालमा लिग ब्याक गर्ने वातावरण बनाउनुपर्ने बताएका छन् ।
बंगलादेशी लिगका लागि ब्रदर्थ युनियनमा आबद्ध भएका अन्जन त्यहाँको लिग खेल्न ढाका पुगिसकेका छन् । उनले नेपालमा लिग नहुँदा बंगलादेशमा खेल्न जानुपरेको बाध्यता रहेको बताएका छन् ।
‘म यो देशको राष्ट्रिय फुटबल खेलाडी भएको नाताले, देशमा धेरै वर्षदेखि फुटबलको लिग नहुँदा बाध्यतावश छिमेकी देश बङलादेश लिग खेल्न आउनुपरेको छ । दुई छाक टार्न र बाबा–आमाको सपना, इच्छा पूरा गर्न अरूको देशमा आइपुगेको छु । सम्पूर्ण खेलाडी अहिले बेरोजगार भएको अवस्थामा छन्,’ अन्जनले आफ्नो फेसबुक पेजमा लेखेका छन्, ‘मेरो बिन्ती छ, एन्फालाई–अब चाहिँ फुटबलको लिग ब्याक गराउने वातावरण चाँडो भन्दा चाँडो गरियोस् ।’
फरवार्ड अन्जनसँगै मिडफिल्डर एरिक विष्ट, डिफेण्डरद्वय सनिश श्रेष्ठ र योगेश गुरुङ पनि लिग खेल्न बंगलादेश गएका छन् । उनीहरु चारै जनाले ब्रदर्स युनियनबाट खेल्नेछन् ।
नेपालका लागि हरि खड्का र निराजन रायमाझी समान सर्वाधिक १३ गोल गरेका अन्जनले अहिले नेपाल आमा रोइरहेको अवस्थामा आफूले केही गर्न नसकेको र विदेश खेल्न जानुपरेको बाध्यता स्वीकारेका छन् । ‘के भन्नु दुर्भाग्य, मेरो नेपाल आमाले रोइरहनु भएको छ। देशमा क्रान्तिको ज्वाला दन्किरहेको छ । अन्जान युवाहरू सुनौलो भविष्यको आशा बोकेर सडकमा देशको लागि बलिदान दिएर सहिद भएका छन्,’ उनले लेखेका छन्, ‘मलाई पनि कहाँ इच्छा थियो र मेरो नेपाल आमालाई रोइरहेको देख्ने? कस्को श्राप लाग्यो मेरो नेपाल आमालाई? मलाई माफ गर्नुहोस्, मैले केही सहयोग गर्न सकिनँ ।’
अन्जनले नेपाल फर्केर देशका लागि केही गर्ने अठोट राख्दै आन्दोलनका क्रममा शहिद भएका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूलाई हार्दिक श्रद्धाञ्जली अर्पण गरेका छन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार