कञ्चनपुर : कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा स्थानीय बासिन्दाको आयआर्जन बढाउने उद्देश्यले दातृ निकायको सहयोगमा जडान गरिएका लाखौँ रुपैयाँ मूल्यका जडीबुटी प्रशोधन प्लान्ट बजार अभावका कारण अलपत्र परेका छन् । मध्यवर्ती क्षेत्रका किसानले जडीबुटी खेती गर्न छाडेपछि लाखौँ मूल्यपर्ने प्लान्ट अलपत्र अवस्थामा रहेका हुन् ।
शुक्लाफाँटा नगरपालिका–६ को कसरौल, वडा नं. ७ जुडा र वडा नं ८ बेलडाँडीमा स्थापना गरिएका जडीबुटी प्रशोधन प्लान्ट सञ्चालनविहीन अवस्थामा रहेका छन् । मानव–वन्यजन्तु द्वन्द्व कम गर्दै निकुञ्ज आसपासका बासिन्दालाई वैकल्पिक आयआर्जनमा जोड्ने उद्देश्यले जडीबुटी खेती प्रवद्र्धन गरी प्लान्ट जडान गरिएको थियो । प्लान्ट राख्ने टहरासँगै दातृ निकायले जडीबुटी सुकाउने सेड हाउससमेत निर्माण गरेका थिए । सेड हाउससमेत जीर्ण अवस्थामा छन् ।
मध्यवर्ती क्षेत्रको सुनदेवी उपभोक्ता समूहका अध्यक्ष भरतबहादुर विष्टका अनुसार वन्यजन्तुले नोक्सान नगर्ने भएकाले क्यामामाइल, मेन्थालगायत जडीबुटी खेतीलाई प्रोत्साहन गरिएको थियो । 'स्थानीयले प्रशोधन गरी तेल उत्पादन गरेर राम्रो आम्दानी गर्न थालेका थिए,' उनले भने ।
उनका अनुसार, सुरुआती वर्षमा किसानले उत्पादित क्यामामाइल र मेन्था तेल प्रतिलिटर रु २५ हजारदेखि रु ४० हजारसम्ममा बिक्री गरेका थिए । व्यापारी घरमै आएर नगदमा तेल खरिद गर्न थालेपछि किसान उत्साहित हुँदै खेती विस्तारमा लागेका थिए ।
त्यसपछि बजार मूल्य लगातार घट्दै गयो । व्यापारीले प्रतिलिटर रु १० हजार र पछि पाँच हजार रुपैयाँसम्म दिन बाध्य बनाए । 'तेस्रो वर्षमा त तेल किन्ने व्यापारी नै भेटिन छाडे,' स्थानीय किसान जनक साउदले भने, 'लागतसमेत नउठ्ने अवस्था आएपछि खेती छाड्न बाध्य भयौँ ।'
किसानका अनुसार प्रशोधित तेल एक वर्षसम्म घरमै थन्क्याएर राख्नुपरेको थियो । 'एकपटक नेपालगञ्ज पु¥याएर निकै सस्तो मूल्यमा बेचेर फर्किनुप¥यो,' किसान जयबहादुर ऐरले भने । बजार व्यवस्थापन नहुँदा किसानले जडीबुटी खेती छाडेपछि करिब लाखौँ मूल्यका प्रशोधन प्लान्ट प्रयोगविहीन बनेका छन् । स्थानीय किसानका अनुसार एउटै प्रशोधन प्लान्टको मूल्य रु सात बढी पर्ने गर्दछ । भरपर्दो बजार व्यवस्थापन र मूल्य सुनिश्चित हुने हो भने मध्यवर्ती क्षेत्रका किसान अझै पनि जडीबुटी खेती गर्न इच्छुक छन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार