Listen LIVE

सरयुगङ्गालाई धार्मिक केन्द्र बनाऔँ : मुख्यमन्त्री आचार्य

दाङ : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले दाङको शितलपुर–बबई क्षेत्रस्थित सरयुगङ्गालाई प्रदेशकै महत्वपूर्ण सांस्कृतिक तथा धार्मिक गन्तव्यका रूपमा विकास गरिने बताएका छन् ।  

तुलसीपुर उपमहानगरपालिकाले सोमबार तुलसीपुर उपमहानगरपालिका वडा १३  अम्बापुरमा रहेको मदनबाबा भक्ति केन्द्रमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै मुख्यमन्त्री आचार्यले  धार्मिक पर्यटन, सांस्कृतिक संरक्षण र स्थानीय आर्थिक समृद्धिका लागि सरयुगङ्गाको समुचित विकास आवश्यक रहेको धारणा व्यक्त गरे । 

मुख्यमन्त्री आचार्यले बई -सरयु गङ्गा) क्षेत्रमा माघी स्नानका अवसरमा कुम्भ मेलाको आयोजना गर्न प्रदेश सरकारको प्राथमिकतामा रहेको बताए । उनले  प्रदेश सरकारको सहकार्यमा र स्थानीय सरकारको व्यवस्थापनमा यस क्षेत्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा परिचित धार्मिक–सांस्कृतिक केन्द्रका रूपमा विकास गरिने उल्लेख गरे ।

लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले सरयुगङ्गा केवल नदी मात्र नभइ आदिम मानव सभ्यताको सुरुवातीचरण, आस्था, संस्कार र सभ्यताको प्रतीक भएकाले यसको संरक्षण, प्रवर्धनमा सबैले जोड दिनुपर्ने बताए ।  

तुलसीपुर उपमहानगरपालिकाका मेयर टीकाराम खड्काले तुही सभ्यताको खोज अनुसन्धानमा पालिकाबाट काम हुँदैआएको बताए । उनले यस क्षेत्रको पर्यापर्यटन प्रवर्धनका लागि धार्मिक र सांस्कृतिक केन्द्रका रूपमा विकासका लागि स्थानीय सरकार तल्लीन रहेको स्पष्ट पारे ।

तुलसीपुर –१३ अम्बापुरका हरिहर पौडेलले मदनबाबा भक्ति केन्द्रलाई बहुआयामिक केन्द्रका रुपमा विकास गर्नुपर्ने बताए । केन्द्रद्वारा २७ फिट अग्लो भगवान शिवको मूर्ति निर्माण, महालक्ष्मी मन्दिर स्थापना, वीरभद्र भगवानको मूर्ति निर्माण, ती स्थलसम्म पुग्न सिँढी निर्माण तथा आकर्षक पुष्पवाटिका स्थापना गर्ने योजना प्रस्तुत गरिएको छ । शिवरात्रीका अवसरमा एकसय आठ ज्योर्तिलिङ्ग स्थापना गर्ने लक्ष्य राखिएको छ ।

प्रतिक्रिया