नेपालगञ्ज : जलवायु परिवर्तनबाट हुने असर न्यूनीकरण तथा जलवायु वित्तमा पहुँच विस्तारका लागि लुम्बिनी प्रदेशका सरोकारवालाको क्षमता अभिवृद्धि गर्न तीनदिने तालिम सञ्चालन गरिएको छ ।
'ग्रिन क्लाइमेट फन्ड' को रेडिनेस कार्यक्रम अन्तर्गत नेपालगञ्जमा सञ्चालन गरिएको लुम्बिनी प्रदेशस्तरीय तालिम सम्पन्न भएको हो । तालिममा प्रदेशको वन तथा वातावरण मन्त्रालय, विभिन्न जिल्लाका वन कार्यालय तथा सामुदायिक वन उपभोक्ता महासङ्घलगायतका प्रतिनिधिको सहभागिता थियो ।
तालिम समापन कार्यक्रममा लुम्बिनी प्रदेश वन निर्देशनालयका महानिर्देशक ईश्वरीप्रसाद पौडेलले जलवायु परिवर्तनका कारण मानव जीवनमा पर्ने प्रत्यक्ष तथा अप्रत्यक्ष असर न्यूनीकरण गर्न जलवायु परिवर्तनसम्बन्धी कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने बताए । उनले जलवायु वित्त परिचालनका लागि संस्थागत क्षमता, सुशासन प्रणाली तथा योजना र कार्यक्रम निर्माण गर्ने क्षमता बलियो बनाउन आवश्यक रहेको बताए ।
जलवायु परिवर्तनका प्रभाव न्यूनीकरण र अनुकूलनका कार्यक्रम सञ्चालन गर्न पर्याप्त वित्तीय स्रोत आवश्यक पर्ने भएकाले उपलब्ध अन्तर्राष्ट्रिय जलवायु वित्तमा पहुँच बढाउन प्रदेश तथा स्थानीय तहको क्षमता विकास गर्नुपर्ने उनको भनाइ थियो ।
तालिमका क्रममा सहभागीलाई 'ग्रिन क्लाइमेट फन्ड' को कार्यक्रम तथा परियोजना निर्माण प्रव्रिmया, परियोजना अवधारणा विकास, सरोकारवालाको सहभागिता तथा वातावरणीय र सामाजिक सुरक्षा उपायका विषयमा जानकारी गराइएको थियो ।
अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ (आइयुसिएन) नेपालका कार्यक्रम प्रबन्धक अमित पौड्यालका अनुसार तालिममा ग्रिन क्लाइमेट फन्डका नीति तथा कार्यक्रम, परियोजना अवधारणा निर्माण, सरोकारवालाको सहभागिता, वातावरणीय तथा सामाजिक सुरक्षा, लैङ्गिक मूलप्रवाहीकरण र लगानीका मापदण्डबारे सैद्धान्तिक तथा व्यावहारिक अभ्यास गराइएको थियो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार