Listen LIVE

बाँकेमा गर्मीले झाडापखाला र ज्वरोका बिरामी बढे

नेपालगञ्ज : नेपालगञ्जसहित आसपासका क्षेत्रमा एक साता अघिदेखि चल्न सुरु भएको तातो हावा (लु)का कारण बढेको अत्यधिक गर्मीले झाडापखाला, ज्वरो र छालाका बिरामीको सङ्ख्या बढ्दै गएको छ ।

देशकै सबैभन्दा बढी गर्मी हुने स्थानमध्येको एक नेपालगञ्जमा गर्मी अत्यधिक बढेका कारण जिल्लाका विभिन्न स्थानमा रहेका अस्पतालहरूमा झाडापखाला, ज्वरो र छालाका बिरामी उपचारका लागि पुग्ने क्रम वृद्धि भएको अस्पतालहरूले जनाएका छन् ।

यस क्षेत्रकै प्रमुख सरकारी अस्पताल भेरी अस्पतालका सूचना अधिकारी तथा वरिष्ठ फिजिसियन डा.सङ्केतकुमार रिसालले केही दिनयता पखाला लागेका, ज्वरो आएका र छालासम्बन्धी विभिन्न समस्या भएका बिरामीहरू उपचारका लागि अस्पतालमा पुग्ने क्रम धेरै बढेको बताए ।

उनले अत्यधिक गर्मीकै कारण अधिकांशलाई छाला सम्बन्धी समस्यासँगै रक्तचाप घटबढ हुने तथा पखाला, रुघाखोकी एवं ज्वरोसमेत आउने गरेको पाइएको बताए । यसैगरी सञ्जीवनी मेडिकल कजेलका मेडिकल सुपरिटेन्डेन्ट डा.रोमन किदवाइले अहिले अस्पतालमा आउने बिरामीमध्ये गर्मीकै कारण बिरामी भएकाहरू धेरै रहेको जनाए ।

उनले अत्यधिक गर्मीकै कारण बालबालिकाहरू सबैभन्दा ठुलो सङ्ख्यामा बिरामी परिरहेको देखिएको बताए । गर्मीबाट हुने रोगबाट जोगिन अत्यावश्यकबाहेक घरबाट बाहिर ननिस्कन र पानी तथा शीतल पेय पदार्थको प्रयोग बढी गर्न सर्वसाधारणलाई चिकित्सकहरूले निरन्तर सल्लाह दिँदै आएका छन् ।

उता, स्वास्थ्य कार्यालय बाँकेले पनि नेपालगन्ज लगायत जिल्लाका अन्य अस्पताल र निजी क्लिनिकहरूमा गर्मीकै कारण बिरामी भएर आउनेहरू अहिले ह्वात्तै बढेको जानकारी आएको जनाएको छ ।

स्वास्थ्य कार्यालय बाँकेका प्रमुख सुनिता पौडेलले जिल्लाको सहरी तथा ग्रामीण क्षेत्रका स्वास्थ्य संस्थाहरूमा गर्मीबाट बिरामी परेका बालबालिका, वृद्धवृद्धा र अन्य महिला पुरुषहरू पुग्ने क्रम बढेको जानकारी दिइन् । उनले जिल्लाका सबै स्वास्थ्य संस्थालाई गर्मीबाट बिरामी आउने सङ्ख्या अझै बढ्न सक्ने जनाउँदै तयारी अवस्थामा रहन निर्देशन जारी गरिएको बताइन् ।

प्रतिक्रिया