नेपालगञ्ज : शिक्षाविद् तथा साहित्यकार किरण आचार्यको आत्मकथा 'आरोह–अवरोह' एक कार्यक्रमका बिच नेपालगन्जमा विमोचन गरिएको छ।
असल शासन मिडियाद्वारा प्रकाशित उक्त कृतिको लुम्बिनी प्राविधिक विश्वविद्यालयका उपकुलपति प्रा. डा. विनोदप्रसाद ढकाल, लेखिका आचार्य, उनका श्रीमान् प्रा. डा. जनार्दन आचार्य, वरिष्ठ साहित्यकार सनत रेग्मी, लेखक नरेन्द्रजङ्ग पिटर, भाषा आयोगका निवर्तमान सदस्य गोपाल अस्क, असल शासन मिडियाका अध्यक्ष नमस्कार शाहलगायतले संयुक्तरूपमा विमोचन गरेका हुन् ।
कार्यक्रमका प्रमुख अतिथि उपकुलपति प्रा.डा. विनोदप्रसाद ढकालले आत्मकथा कुनै व्यक्तिको जीवनवृत्तान्त मात्र नभई समाज र समयको इतिहास पनि हुने बताए। उनले किरण आचार्यको जीवनयात्रा सङ्घर्ष, समर्पण र निरन्तरताको उदाहरण रहेको उल्लेख गर्दै 'आरोह–अवरोह' ले शिक्षा, समाज र राष्ट्रप्रतिको जिम्मेवारीबोधलाई उजागर गरेको धारणा राखे। पुस्तकले आगामी पुस्तालाई कठिन परिस्थितिसँग जुधेर सफलता हासिल गर्न प्रेरणा दिने उनको विश्वास थियो।
वरिष्ठ साहित्यकार सनत रेग्मीले किरण आचार्य नेपाली साहित्य र शिक्षा क्षेत्रमा परिचित तथा सम्मानित नाम भएको उल्लेख गर्दै आत्मकथाले एक महिलाको सङ्घर्षशील जीवनको यथार्थ चित्रण गरेको बताए। उनले पुस्तकमा समेटिएका अनुभव, भोगाइ र विचारहरूले पाठकलाई भावनात्मक तथा बौद्धिकरूपमा समृद्ध बनाउने धारणा राख्दै साहित्य समाजको ऐना भएकाले कृतिले समकालीन समाज बुझ्न महत्त्वपूर्ण आधार प्रदान गर्ने बताए।
लेखक तथा राजनीतिक विश्लेषक नरेन्द्रजङ्ग पिटरले आत्मकथा लेखन साहसको विषय भएको बताउँदै किरण आचार्यले आफ्ना जीवनका उतारचढावलाई निसङ्कोच रूपमा प्रस्तुत गर्नुभएको उल्लेख गरे। उनका अनुसार पुस्तकमा व्यक्तिगत अनुभवसँगै देशको राजनीतिक, सामाजिक र शैक्षिक अवस्थाबारे पनि उल्लेख भएकाले यो केवल आत्मकथा मात्र नभई समकालीन समयको दस्तावेज बनेको छ।
भाषा आयोगका निवर्तमान सदस्य गोपाल अस्कले पुस्तकले भाषा, साहित्य र समाजलाई जोड्ने काम गरेको बताए। उनले किरण आचार्यको साहित्यिक योगदानको प्रशंसा गर्दै पुस्तकको भाषा सरल, सहज र पाठकमैत्री रहेको उल्लेख गरे। पुस्तकले नयाँ पुस्तालाई साहित्य, शिक्षा र सामाजिक उत्तरदायित्वतर्फ आकर्षित गर्न सहयोग पुग्ने उनको भनाइ थियो।
असल शासन मिडियाका अध्यक्ष नमस्कार शाहले पुस्तकको प्रकाशन प्रक्रिया तथा विषयवस्तुबारे जानकारी दिँदै 'आरोह–अवरोह' ले जीवनका विविध अनुभव, सङ्घर्ष र सफलताका कथाहरू समेटेको बताए। उनले पुस्तकले पाठकलाई जीवनका यथार्थ पक्ष बुझ्न र चुनौतीहरू सामना गर्न प्रेरित गर्ने विश्वास व्यक्त गरे।
लेखिका किरण आचार्यले आफ्नो जीवनका भोगाइ, सङ्घर्ष, सफलता र असफलताका अनुभवलाई पुस्तकमा समेटिएको बताइन् । उनले बाल्यकालदेखि शिक्षण पेसासम्मका अनुभव, पारिवारिक तथा सामाजिक चुनौती, जीवनका उतारचढाव र ती अनुभवबाट सिकेका पाठ पुस्तकमा समावेश गरिएको जानकारी दिँदै पुस्तक लेखनको उद्देश्य आफ्ना अनुभव समाज र आगामी पुस्तासम्म पु¥याउनु रहेको बताइन् ।
कार्यक्रममा हरित अभियन्ता हेमन्तराज काफ्ले, साहित्यकार भोजराज शर्मा तथा मङ्गल प्रसाद नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक सन्ध्या गुप्ताले पनि आ–आफ्ना धारणा राखेका थिए।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार