Listen LIVE

नेपालगञ्जमा छाडा पशुचौपायाको बिगबिगी

नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिकाका विभिन्न प्रमुख सडक र चोकमा फेरि एकपटक ठुलो संख्यामा छाडा चौपाया देखिन थालेका छन् । व्यस्त सडक र चोकमा रहेका छाडा चौपायाका कारण आवागमनमा समस्या हुनुका साथै दुर्घटनाको जोखिमसमेत बढ्दै गएको स्थानीयको गुनासो छ ।

नागरिक सरोकार मञ्च बाँकेका संयोजक कृष्णप्रसाद श्रेष्ठले पछिल्लो समय फेरि धम्बोझी चोक, सुर्खेत रोड, बीपी चोक, भेरी अस्पताल चोक, गणेशमान चोक, पुष्पलाल चोक, त्रिभुवन चोक तथा सदरलाइन क्षेत्रमा छाडा चौपायाको बिगबिगी बढेको बताए ।

उनले छाडा चौपाया नियन्त्रणका लागि लामो समयदेखि माग र प्रयास गरिए पनि नगरवासीले यस समस्याबाट मुक्ति पाउन नसकेको बताए ।

यसैगरी, नागरिक अगुवा डा. विनोद कर्णले पनि नगरको व्यस्त बजार र चोकमा फेरि चौपायाको संख्या बढ्दै गएकाले नागरिकलाई आवागमनमा समस्या हुन थालेको बताए । उनले समस्या समाधानका लागि धेरैपटक प्रयास गरिए पनि सफलता नमिलेकोमा दुःख व्यक्त गरे ।

नगर क्षेत्रमा फेरि ठुलो संख्यामा छाडा चौपाया देखिन थालेपछि नेपालगन्ज उपमहानगरपालिकाले तिनलाई नियन्त्रणमा लिएर कान्जिहाउस पु¥याउने अभियान सुरु गरेको जनाएको छ ।

नेपालगञ्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टले छाडा चौपायाका कारण नगरका विभिन्न स्थानमा समस्या भएको गुनासो आएपछि नियन्त्रण अभियान फेरि सुरु गरिएको बताए ।

उनले पछिल्लो १५ दिनमा मात्रै नगरका विभिन्न स्थानबाट १५० भन्दा बढी छाडा चौपायालाई नियन्त्रणमा लिएर नेपालगञ्ज–२१ मा रहेको कान्जिहाउसमा पु¥याइएको बताए ।

बेलाबेलामा छाडा चौपायालाई सहरबाहिर रहेको कान्जिहाउसमा लगेर राख्दै आए पनि बजारमा छाडा चौपायाको संख्या घट्न नसकेकाले चिन्ता बढ्दै गएको उपमहानगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया