Listen LIVE

मोहम्मद जयन्तीमा नेपालगञ्जमा डिजे नबजाइने

नेपालगञ्ज : केही दिनअघि सुनसरीमा भएको धार्मिक घटनालाई दृष्टिगत गर्दै नेपालगञ्जका मुस्लिम समुदायले यस वर्षको मोहम्मद जयन्तीका अवसरमा निकालिने धार्मिक जुलुसमा ठुलो स्वरको बाजा (डिजे) नबजाउने निर्णय गरेका छन् । 

मुस्लिम अगुवाहरूले सो दिवसमा अवसरमा आयोजना हुने सबै खालका कार्यव्रmमलाई शान्तिपूर्ण, मर्यादित र व्यवस्थित बनाउन डिजे तथा अत्यधिक ध्वनि प्रयोग नगर्ने निर्णय गरेका छन् । इस्लाम धर्मका अन्तिम प्रवर्तक हजरत मोहम्मदको जन्मदिनका अवसरमा यही भदौ १० गते मनाइने मोहम्मद जयन्तीका कार्यक्रमबारे नेपालगञ्जस्थित स्थानीय जामा मस्जिदमा भएको मुस्लिम धर्मगुरु, सामाजिक अगुवा, बुद्धिजीवी तथा सरोकारवालाको भेलाले यस्तो निर्णय गरेको हो ।

मुस्लिम समुदायका अगुवा अतहर हुसेन फारुकीले धार्मिक कार्यक्रमको गरिमा र मर्यादा कायम राख्दै सामाजिक सद्भाव र सार्वजनिक शान्तिलाई प्राथमिकता दिने उद्देश्यले डिजे नबजाउने निर्णय गरिएको जानकारी दिए । उनका अनुसार मोहम्मद जयन्तीका अवसरमा निकालिने धार्मिक जुलुसलगायत सबै कार्यक्रमलाई व्यवस्थित र अनुशासित बनाइने छ । 

अर्का मुस्लिम अगुवा जियाउल हकले धार्मिक कार्यव्रmममार्फत इस्लाम धर्मले दिएको शान्ति, सहिष्णुता र भाइचाराको सन्देश समाजमा प्रवाह गर्नुपर्नेमा भेलाले जोड दिएको बताए । उनले धार्मिक आस्था र परम्पराको सम्मान गर्दै जुलुसलाई सभ्य, सौहार्दपूर्ण र अनुशासित बनाउन सबै पक्षको सहयोग आवश्यक रहेको बताए ।

मुस्लिम धर्मगुरु मौलाना अब्दुल जब्बार मन्जरीले नेपालगन्जको बहुधार्मिक तथा बहुसांस्कृतिक पहिचानलाई थप बलियो बनाउन आपसी सम्मान, सहकार्य र सामाजिक एकता आवश्यक रहेको बताए । उनले धर्म फरक भए पनि शान्ति, सद्भाव र मानवता सबैको साझा जिम्मेवारी भएकाले सोही भावना अनुसार मोहम्मद जयन्ती मनाउन मुस्लिम समुदायलाई आग्रह गरे । अगुवा मेराज अहमद हिमालयका अनुसार मोहम्मद जयन्तीलाई सामाजिक एकता र भाइचाराको पर्वका रूपमा मनाउने निर्णयसमेत भेलाले गरेको छ ।

भेलामा ओल्मा काउन्सिल बाँकेका अध्यक्ष मौलाना नसरुद्दिन अन्सारी, मुफ्ती कैफुलवरा, मौलाना जमाल अहमद, मौलाना जियाउल मुस्तफा, मौलाना जाफर, मुस्लिम इत्तेहाद सङ्गठनका केन्द्रीय अध्यक्ष हारुन हलवाई, जामा मस्जिद सञ्चालक समितिका अध्यक्ष अ–युब सिद्दिकी, इरफान सिद्दिकी, मेराज अहमद, फिरोज वारसीलगायतको सहभागिता थियो । मुस्लिम समुदायले गरेको निर्णयको स्थानीय अन्य धर्म समुदाय तथा सामाजिक क्षेत्रका व्यक्तिहरूले स्वागत गरेका छन् । 

बागेश्वरी मन्दिरका मूल महन्त तथा हिन्दु धर्मगुरु चन्द्रनाथ योगीले मुस्लिम समुदायको निर्णय सकारात्मक रहेको बताउँदै यसको अनुसरण अन्य धर्मका समुदायले पनि गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले समाजमा शान्ति र सद्भाव कायम गर्न सबैले सहयोग गर्नुपर्ने बताए । 

त्यसै गरी बौद्ध गुम्बा नेपालगन्जका प्रमुख गुरु गुणबहादुर लामाले पनि मुस्लिम समुदायले डिजे नबजाउने निर्णय गर्नु सकारात्मक भएको बताए । समाजमा शान्ति र सद्भाव कायम गर्न सबै समुदाय मिलेर अघि बढ्नुपर्ने उनको भनाइ थियो । 

सामाजिक अगुवा हेमन्तराज काफ्लेले डिजे तथा अत्यधिक ध्वनि प्रयोग नगर्ने निर्णयले समाजमा थप शान्ति, एकता, अनुशासन र सामाजिक सद्भावको उदाहरण बनाउन सहयोग पुग्ने बताए ।

प्रतिक्रिया