नेपालगञ्ज : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई सहज, सुरक्षित र पहुँचयोग्य बनाउने लक्ष्यसहित बाँकेमा निर्वाचन गतिविधिहरू तीव्र हुन थालेका छन् । जिल्लाको भू–उपयोग, बसोबासको घनत्व र भौगोलिक कठिनाइलाई मध्यनजर गर्दै निर्वाचन कार्यालयले नयाँ मतदान केन्द्र थपदेखि पुराना केन्द्रहरूको स्थानान्तरणसम्मका निर्णयहरू भइरहेको जानकारी दिएको छ । बाँकेमा एउटा मतदान केन्द्र थप भएको छ भने तीन वटा मतदान केन्द्र स्थानान्तरण गर्ने निर्णय गरिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख टेकबहादुर शाहीले बताए ।
राप्तीसोनारी गाउँपालिका–२ अगैयाका स्थानीयलाई विगतमा शहिद स्मारक मतदान केन्द्रमा पुगेर मतदान गर्न निकै टाढा र अपायक पर्ने गरेको थियो । चुरे छेउको असजिलो बाटो र यातायात सुविधाको अभावका कारण स्थानीयको सहभागितामा समेत असर परिरहेको थियो । यही समस्या समाधान गर्न मतदान स्थल तथा मतदान कार्यविधि २०८१ बमोजिम अगैया माविलाई नयाँ मतदान केन्द्रका रूपमा सिफारिस गरिएको शाहीले बताए । उनले भने–‘प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गरिएको अनुगमनमा ४६३ जना मतदातालाई अत्यन्तै कठिनाइ देखिएपछि नयाँ केन्द्र सिफारिस गरिएको हो ।’
राप्तीसोनारी–२ कै लक्ष्मी मावि मा दुई मतदान केन्द्रलाई प्रावि मधुवामा सारिएको छ । यहाँका ६–७ वटै बस्तीलाई लक्ष्मी मावि मतदान केन्द्र अपायक रहेको देखिएपछि मधुवामा स्थानान्तरण गरिएको शाहीले जानकारी दिए । यस्तै, खजुरा गाउँपालिका–७ मा मदरसामा रहेको मतदान केन्द्रलाई अमृता माविमा सारिएको छ । गुल्जर मदरसा मतदान स्थल ‘असुरक्षित’ देखिएपछि वैकल्पिक स्थान रोजिएको शाहीको भनाई छ ।
कोहलपुर नगरपालिका–८ र ९ का मतदाताका लागि पनि नयाँ व्यवस्था गरिएको छ । अघिल्लो निर्वाचनमा कृषि विकास बैङ्कमा राखिएको मतदान केन्द्र हटाएर अब वडा नम्बर ८ का लागि सरस्वती मावि पिपरी र वडा नम्बर ९ का लागि वडा कार्यालयलाई मतदान केन्द्र तोकिएको छ । २०७९ सालको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा बाँकेमा १३८ वटा मतदान केन्द्र थिए । यसपाली एउटा थपिँदै सङ्ख्या १४० पुगेको छ, जसले आगामी निर्वाचनमा सहभागी सबै मतदातालाई सहज पहुँच सुनिश्चित् गर्ने आशा गरिएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार