नेपालगञ्ज : भेरी अस्पताल नेपालगन्जमा आगामी वर्षदेखि सुरु हुने एमडी–एमएस अध्ययनका लागि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) ले तयारीलाई अगाडि बढाएको छ । सो क्रममा एमडी–एमएस अध्ययनका लागि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) ले भेरी अस्पतालका ६ जना वरिष्ठ चिकित्सकहरुलाई सह प्राध्यापकको जिम्मेवारी दिएको छ ।
भेरी अस्पतालमा आगामी वर्षदेखि एमडी र एमएसको अध्ययन शुरु गर्ने भएपछि प्रतिष्ठानले प्राध्यापकको जिम्मेवारी तोक्न थालेको अस्पतालका प्रमुख डा. निराजन सुवेदीले बताए । उनले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, प्राज्ञिक परिषद्को मङ्सिर २ गतेको बैठकले उनीहरुलाई जिम्मेवारी तोकेको जानकारी आएको बताए ।
भेरी अस्पतालका मेडिसिन विभाग प्रमुख तथा प्रमुख कन्सल्टेन्ट फिजिसियन डा.राजन पाण्डे र मेडिसिन विभागमै कार्यरत डा. विकास नेपाललाई चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)ले सह प्राध्यापकको जिम्मेवारी दिएको छ ।
यसैगरी चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)ले भेरीकै अर्थोपेडिक विभागमा कार्यरत अर्थोपेडिक सर्जनहरु डा. तिर्थेन्द्र खड्का र डा. प्रकाश थापालाई पनि सह प्राध्यापकको जिम्मेवारी दिएको छ । डा. खड्का अर्थोपेडिक विभाग प्रमुख हुन् भने डा. थापा अस्पतालका पूर्व प्रमुख हुन् ।
भेरी अस्पतालको अब्स गाईनो विभागमा कार्यरत डा. कीर्तिपाल सुवेदी र रेडियोलोजी विभागका डा. विश्वनाथ शर्मालाई समेत सह प्राध्यापकको जिम्मेवारी दिइएको छ । भेरी अस्पतालमा एमडी–एमएस अध्ययनका लागि आउने विद्यार्थीहरुलाई सह प्रध्यापकहरुले गाइड गर्नेछन् ।
भेरी अस्पतालमा एमडी र एमएसको अध्ययन शुरु गर्ने निर्णय गरिएपछि यस क्षेत्रका बिरामीले सहजरुपमा सरकारी अस्पतालमै विशेषज्ञ उपचार सेवा पाउने भएका छन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार