Listen LIVE

मतदाता परिचयपत्र नभए पनि मतदान गर्न पाइने

काठमाण्डौ : आगामी निर्वाचनमा मतदाता परिचयपत्र नभए पनि मतदान गर्न पाइने भएको छ । निर्वाचन आयोगका अनुसार मतदाता परिचयपत्र हराएको, नस्ट भएको वा साथमा नभएको अवस्थामा ६ प्रकारका सरकारी कागजातमध्ये कुनै एक देखाएर भोट हाल्न सकिन्छ ।

आयोगले स्थापना गरेको कल सेन्टरमा आएका प्रश्नको जवाफ दिँदै मतदाता नामावलीमा नाम दर्ता भएका व्यक्तिले सक्कल सरकारी कागजात देखाएमा मतदान गर्न पाउने स्पष्ट पारेको हो । मतदानका लागि मतदाता नामावलीमा नाम दर्ता हुनु अनिवार्य छ ।

नाम दर्ता भएका मतदाताले सामान्य अवस्थामा मतदाता परिचयपत्र लैजानुपर्ने भए पनि विशेष अवस्थामा अन्य कागजात प्रयोग गर्न सकिने आयोगले जनाएको छ ।

आयोगका अनुसार मतदाता परिचयपत्र नभएको अवस्थामा नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, सवारी चालक अनुमतिपत्र वा जग्गाधनी प्रमाण पूर्जामध्ये कुनै एउटा सक्कल कागजात देखाएर मतदान गर्न सकिन्छ ।

आगामी २१ फागुनमा हुने निर्वाचनलाई लक्षित गर्दै आयोगले मतदातालाई मतदानका दिन आवश्यक कागजात साथमा राख्न आग्रह गरेको छ । यस व्यवस्थाले परिचयपत्र नहुँदा मतदानबाट वञ्चित हुने अवस्था नआउने आयोगले जनाएको छ ।

प्रतिक्रिया