Listen LIVE

संविधानविरोधी गतिविधि स्वीकार्य छैन : गृहमन्त्री लेखक

गण्डकी : गृहमन्त्री रमेश लेखकले संविधानविरोधी गतिविधि कुनै हालतमा स्वीकार्य नहुने बताएका छन्। गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठीको आज पोखरामा उदघाटन गर्दै गृहमन्त्री लेखकले पूर्वराजावादी वा अन्य कुनै नाममा संविधानविरोधी गतिविधि तथा अस्थिरता निम्त्याउने कार्य क्षम्य नहुने स्पष्ट पारे।

उनले बलिदानीपूर्ण संघर्षबाट प्राप्त वर्तमान संविधानको रक्षा गर्न सबै तयारी अवस्थामा रहनुपर्ने धारणा व्यक्त गरे। नेपालमा विगत सात दशकमा सातवटा संविधान बनेको स्मरण गराउँदै वर्तमान संविधान संसारकै उन्नत लोकतान्त्रिक संविधान भएको उल्लेख गरे। उनले भने, ’संविधानमै रही आलोचना, समालोचना तथा विभिन्न गतिविधि गर्न पाइन्छ। तर, संविधानविरोधी गतिविधि र हत्याहिंसालाई प्रश्रय दिने, संविधान फाल्छु भन्ने अराजक क्रियाकलाप कानुनअनुसार दण्डनीय छन्।’

मन्त्री लेखकले संविधानको रक्षा अहिलेको आवश्यकता भएको उल्लेख गर्दै वर्तमान संविधान निर्माणको १० वर्ष पूरा हुँदै गरेको सन्दर्भमा आवश्यक समीक्षा गरी सबै सरोकारवालासँग सहमति कायम गर्दै आवश्यकतानुसार संशोधन र सुधारको प्रयास गरिने बताए।

उनले पछिल्लो समय लागुऔषधको बढ्दो प्रयोग, आत्महत्या, सवारी दुर्घटना, साइबर अपराध, प्राकृतिक विपद् आदि चुनौतीका रूपमा देखापरेकाले तिनको समाधानतर्फ सरकार निरन्तर क्रियाशील रहेको बताए। साथै, सेवा प्रवाहलाई प्रभावकारी बनाउँदै जनताप्रति उत्तरदायी बन्न कुनै कसर बाँकी नराख्न पनि आग्रह गरे।

मन्त्री लेखकले जिल्लामा प्रमुख जिल्ला अधिकारी संघीय सरकारका प्रतिनिधिका रूपमा रहेकाले संघ, प्रदेश र स्थानीय तहबीच समन्वय कायम गर्दै सेवा प्रवाहलाई नागरिकमैत्री र प्रविधिमैत्री बनाउँदै लैजानुपर्नेमा जोड दिए।

प्रतिक्रिया