नेपालगञ्ज : संघीय सरकारका कृषि मन्त्री डा. मदन परियारले कृषि क्षेत्रमा थुप्रै समस्या भए पनि सरकारले क्रमशः समाधान गर्दै लगेको बताएका छन् । बाँकेको कोहलपुरमा आज अगुवा किसानहरुसंगको अन्तरक्रिया कार्यक्रममा उनले चुनावी सरकार भए पनि किसानलाई प्राथमिकता दिएर काम गर्दै आएको बताए ।
उनले भने–‘यो चुनावी सरकार हो । किसानलाई अहित हुने काम मन्त्रालयले गर्दैन । किसानलाई प्रोत्साहित हुने काम मात्रै गर्छ ।’
उनले आफूले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि दूग्ध किसानको ६० करोड बढी भुक्तानी दिलाउन सफल भएको बताए । ’८५ करोड दूग्ध किसानको भुक्तानी गर्न बाँकी रहेछ, म आएपछि ६० करोड भुक्तानी भइसकेको छ,’ उनी भन्छन–‘निजी क्षेत्रको पनि करिव एक अर्व भुक्तानी भइसकेको छ । अब ८०–८५ करोड बाँकी होला, त्यो पनि दुई तीन महिनामा भुक्तानी हुन्छ ।’ किसानहरुले समयमा मल नपाउने, विउविजन नपाउने लगायतका समस्या बर्षौंदेखिका समस्या भएको भन्दै त्यसलाई क्रमशः समाधान गरिने मन्त्री परियारको भनाई छ ।
त्यसैगरी कृषि मन्त्रालयका सचिव डा. राजेश प्रसाद मिश्रले स्थानीय सरकारले किसानका सवाललाई प्राथमिकता दिनुपर्ने बताए । उनले स्थानीय सरकार बलियो भए किसान पनि बलियो हुने धारणा राखे । संघीय सरकार भन्दा पनि नजिकको सरकार स्थानीय सरकार भएकाले स्थानीय सरकारले नै किसानालई प्राथमिकता दिनुपर्ने बताए ।
कार्यक्रममा सहभागी किसानहरुले समयमा मल नपाएको, बीउविजन नपाएको, अनुदानमा पहुँचवालाको मात्रै दबदबा भएको लगायतको गुनासो गरेका थिए । कोहलपुर नगरपालिकाका नगर प्रमुख संगिता सुवेदीको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार