नेपालगञ्ज : आगामी साउन १ गतेबाट प्रदर्शनको तयारीमा रहेको प्रतिक्षित नेपाली चलचित्र 'गौथली' को निर्माण टिम चलचित्रको प्रचार प्रशारका लागि देश दौडाहामा निस्केको छ । आइतबार बाँकेको नेपालगञ्जमा आइपुगेको गौँथली टिमले नेपालगञ्जमा पत्रकार सम्मेलन गर्दै नेपाली समाजको फरक धार बोकेको गौंथलीलाई माया गरिदिन दर्शकहरुलाई आह्वान गरेका छन् ।
मोफसल प्रचारप्रसार अभियान अन्तर्गत आइतबार नेपालगञ्जमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गर्दै गौथली टिमले चलचित्रको कथावस्तु, प्राविधिक पक्ष र उद्देश्यबारे प्रकाश पारेको हो । चलचित्रको टिमले 'गौथली' को निर्माण पक्षमा कुनै सम्झौता नगरिएको र यसले दर्शकलाई मनोरञ्जनका साथै एउटा बलियो सन्देश दिने विश्वास व्यक्त गरे ।
पत्रकार भेटघाटमा बोल्दै चलचित्रका निर्देशक डा. कपिल रिजालले 'गौथली' केवल एउटा सामान्य प्रेमकथा मात्र नभएर नेपाली ग्रामीण समाजको यथार्थ परिवेश, संघर्ष र मौलिकतालाई पर्दामा उतार्ने प्रयास गरिएको बताए । उनले चलचित्र गौँथलीलाई नेपाली माटोको सुगन्ध आउने गरी सिनेमा तयार पारेको दाबी गरे । उनले आफ्ना पिता डा. भोला रिजालको गीति संग्रह गौथलीलाई समाजिक परिवेश मिल्ने गरी चलचित्रमा उतारिएको जानकारी दिए । हरेक घरमा भएका परिवेशलाई समेटेर चलचित्रको कथा लेखिएको उल्लेख गर्दै उनले गौँथली चलचित्र मनोरञ्जनसँगै आत्माआलोचना गर्नका लागि पनि हेैँपर्ने चलचित्र भएको दाबी गरे ।
चलचित्रका निर्माता सुमन गिरीले चलचित्र विशुद्ध मौलिक र सामाजिक परिवेशमा भएको कारण चलचित्र सफल हुने विश्वास ब्यक्त गरे ।
चलचित्रका मुख्य नायक अरुण क्षेत्रीले चलचित्रमा आफुले माइल्ड अटिजम भएको व्यक्तिको भूमिका निर्वाह गरेको जानकारी दिए । उनले चलचित्रले विशेष क्षमता भएको व्यक्तिमा करुणा, स्नेह प्रेम कतिहदसम्मको रहन्छ भन्ने विषय स्पस्ट पारेको बताए ।
नयिका सिमरन खड्काले सानै उमेरमा विहेगरेपछि पढ्ने इच्छा राख्ने नारीले पढ्नलाई गर्ने संघर्षलाई पर्दामा उतारिएको बताइन् । उनले चलचित्रमा आफूले निभाएको 'गौथली' को पात्रले नेपाली नारीहरूको संघर्ष र आत्मसम्मानलाई प्रतिनिधित्व गर्ने बताइन् ।
'गौँथली'लाई डा. कपिल रिजालले निर्देशन गरेका छन् । चलचित्रमा अरुण र सिम्रनसँगै मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सन्जोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिना र राजेन्द्र नेपालीको अभिनय रहेको छ । बाल कलाकारका रूपमा अंशु ओली र प्रिन्स नेपालीको अभिनय छ ।
डा. भोला रिजालको कथा रहेको चलचित्रको पटकथा तथा संवाद लेखन निर्देशक डा. कपिलसँगै निश्चल कुँवर, नीरज नेपाल र गिरिराज घिमिरेले गरेका हुन् । भोला रिजाल प्रोडक्शन र सुमन गिरी प्रोडक्सनको प्रस्तुतिमा बनेको यस चलचित्रको कार्यकारी निर्माता सरला रिजाल हुन् । चलचित्रमा शम्भुजीत बासकोटा, थानेश्वर गौतम र प्रशान्त सिवाकोटीको संगीत छ ।
हरि हुमागाईको छायाङ्कन, मिलन श्रेष्ठको सम्पादन, रामजी लामिछाने र मौसम हिमालीको कोरियोग्राफी चलचित्रमा छ । 'गौँथली' नाममा डा. भोला रिजालले दुई दशकअघि गीति चलचित्र निर्माण गरेका थिए । उक्त चलचित्रलाई नेपालको पहिलो 'गीति फिल्म' भएको बताइन्छ । कार्यक्रम चलचित्र पत्रकार संघ बाँकेका अध्यक्ष रामचन्द्र पौडेलको अध्यक्षतामा सम्पन्न भएको पत्रकार भेटघाटको सहजिकरण सचिव लक्ष्मी तिमील्सिनाले गरेकी थिइन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार