दाङ : कुनै समय जीर्ण अवस्थामा रहेका थारू समुदायका आस्थाका केन्द्र भुह्यारथान अहिले गाउँ गाउँमा नयाँ स्वरूपमा पुनर्निर्माण भइरहेका छन् ।
थारू समुदायको धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक पहिचानसँग जोडिएका यी भुह्यारथान संरक्षणमा स्थानीय तहले चासो बढाएसँगै पछिल्ला वर्षमा पुनर्निर्माण अभियानले गति लिएको हो ।
घोराही उपमहानगरपालिकाले थारू समुदायको आस्था र परम्पराको संरक्षणलाई प्राथमिकतामा राख्दै उपमहानगरभित्रका ४० गाउँमा भुह्यारथान निर्माण गरिसकेको छ । उपमहानगरपालिका प्रमुख नरुलाल चौधरीले स्थानीय सरकार गठनपछि जनप्रतिनिधिको पहलमा गाउँ गाउँमा भुह्यारथान निर्माण तथा संरक्षणको अभियान सञ्चालन गरिएको बताए ।
उनका अनुसार परम्परादेखि पूजाआजा गरिँदै आएका धेरै भुह्यारथान जीर्ण अवस्थामा पुगेपछि पुरानै स्वरूप र शैलीलाई कायम राख्दै आधुनिक तथा भूकम्प प्रतिरोधी संरचनाका रूपमा पुनर्निर्माण गरिएको हो । उनले छानो, सिमेन्ट र आवश्यक निर्माण सामग्री प्रयोग गरी परम्परागत स्वरूप नबिग्रने गरी भुह्यारथान निर्माण गरिएको बताए । नगरप्रमुख चौधरीले भने, 'भुह्यारथान गाउँको साझा मन्दिर हो, गाउँलेको धार्मिक आस्था र विश्वासको केन्द्र भएकाले यसको संरक्षण गर्नु स्थानीय सरकारको दायित्व हो ।' उनका अनुसार एउटा भुह्यारथनमा निर्माणमा श्रमदानबाहेक एकदेखि दुई लाख रुपैयाँसम्मको उपमहानगरपालिकाले सहयोग गर्दै आएको छ ।
उनले स्थानीय कला, संस्कृति र परम्पराको संरक्षण स्थानीय सरकारको महत्वपूर्ण जिम्मेवारी भएकाले थारू समुदायको संस्कार, संस्कृति र सम्पदाको संरक्षण तथा प्रवर्धनलाई विशेष प्राथमिकतामा राखिएको बताए । उनले भने, 'अहिलेसम्म ४० वटा भुह्यारथान निर्माण गरिसकेका छौँ । आगामी आर्थिक वर्षका लागि पनि भुह्यारथान निर्माण तथा संरक्षणका लागि बजेट विनियोजन गरेका छौँ ।'
नगरप्रमुख चौधरीका अनुसार भुह्यारथान धार्मिक स्थल मात्र नभई थारू समुदायको साझा आस्थाको धरोहर र पुस्तौँदेखि जोडिएको सांस्कृतिक सम्पदा पनि हो ।
घोराही उपमहानगरपालिका–१०, जलौराका मटावाँ चन्द्रप्रसाद चौधरीका अनुसार भुह्यारथानमा गाउँलेले प्रत्येक वर्ष सामूहिक रूपमा दुई पटक ढुर्या र हार्या गुरैपुजा गर्ने परम्परा छ । उनले भने, 'भुह्यारथानमा विधिपूर्वक पूजा गरे गाउँमा शान्ति कायम हुने, अन्नबाली राम्रो हुने, रोगव्याधी नलाग्ने, पशुचौपायामा रोग नफैलिने तथा प्राकृतिक विपत्तिबाट जोगिने विश्वास रहिआएको छ ।'
त्यसै गरी विवाह, नयाँ घर निर्माणलगायत अन्य शुभकार्यअघि पनि भुह्यारथानमा पूजा गर्ने परम्परा अहिलेसम्म पनि कायम रहेको उनले बताए । उनले विवाहमा बेहुलाबेहुलीको शुभसाइतका लागि जन्ती निस्कनुअघि र बेहुली दुलाह घर जानुअघि अनिवार्य रूपमा भुह्यारथानमा दर्शन गर्ने चलन रहेको बताए । यस्तै दसैँका बेला गाउँले भुह्यारथानमा भेला भएर महाभारतसँग सम्बन्धित बर्कीमार गीत गाउने परम्परा पनि रहेको चौधरीले बताए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार